सांसद खतिवडाको प्रश्न: जेनजी आन्दोलनमा गोली चलाउनेलाई कहिले जेलमा देख्न पाउँछौं?

रास्वपा सांसद रचना खतिवडाले जेनजी आन्दोलनका घाइते र शहीदको रगतलाई बिर्सिएको हो कि भनेर प्रश्न गरिन्। उनले शहीद परिवार र घाइतेको घाउमा न्यायको मल्हम अझै नलागेको भन्दै चिन्ता व्यक्त गरिन्। सांसद खतिवडाले निर्दोषमाथि गोली चलाउने दोषीलाई कहिले जेलमा देख्न पाउने र न्यायालय शुद्धीकरणको माग गरिन्।
२९ वैशाख, काठमाडौं। सांसद खतिवडाले मंगलबार प्रतिनिधिसभाको शून्य समयमा धारणा राख्दै भने, “आज देश परिवर्तनको नयाँ चरणमा अगाडि बढिरहेको छ। तर जुन जेनजी आन्दोलनका घाइते तथा शहीदको रगतमा टेकेर यो जनादेश आएको थियो, आज त्यही कुरा बिर्सँदै गएका हौँ?” उनले थपिन्, “शहीद परिवार र घाइतेको घाउमा न्यायको मल्हम अझै लागेको छैन।”
सांसद खतिवडाले जेनजी आन्दोलनमा गोली चलाउनेलाई कहिले जेलमा देख्न पाइन्छ? भन्दै प्रश्न गरिन्। उनले भनिन्, “जसले निर्दोष जनतामाथि गोली चलाएर युवाहरूको सपना र भविष्यमाथि आक्रमण गरेको छ, ती दोषीहरूलाई हामी कहिले सर्वसाधारणलाई राख्ने जेलमा देख्न पाउँछौं? हाम्रो सम्माननीय न्यायालय धेरै फोहोर भएको छ, यसलाई शुद्धीकरण गरियोस्।”






