भारतले भन्यो– नेपालले विदेश सचिवलाई भ्रमणको निम्तो दिएको, मिति समझदारीमा निर्धारण हुनेछ

२९ वैशाख, काठमाडौं । नेपालले भारतीय विदेश सचिव विक्रम मिश्रीलाई भ्रमणको निम्तो दिएको विदेश मन्त्रालयले जानकारी दिएको छ। साप्ताहिक मिडिया ब्रिफिङमा मंगलबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मौरिससमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग हुने भेटवार्ताका क्रममा विदेश सचिव मिश्रीलाई भ्रमणको निम्तो दिएको पुष्टि गरे। ‘हाम्रा विदेशमन्त्रीले पनि नेपालका विदेशमन्त्रीसँग कुराकानी गरेका थिए,’ प्रवक्ता जैसवालले भने, ‘उनीहरू मोरिससमा भेटवार्ता गरेका थिए। विदेश सचिवलाई नेपालको तर्फबाट निम्तो आएको हो।’ तथापि भ्रमणको मिति भने निश्चित नभएको उनले बताए।
उनका अनुसार, दुई देशबीचको आपसी समझदारी अनुसार भ्रमणको मिति निर्धारण गरिनेछ। ‘उहाँ (विदेश सचिव) नेपाल जाने मिति दुई देशबीचको समझदारीमा तय हुन्छ,’ उनले बताए। मिडिया ब्रिफिङका क्रममा एक सञ्चारकर्मीले भारतीय विदेश सचिवको नेपाल भ्रमण स्थगित हुनुको कारणबारे प्रश्न गर्दा उनले जवाफमा भने, ‘हाम्रो सम्बन्ध बहुआयामिक छ। नेपालमा निर्वाचन सम्पन्न भइसकेको छ र नयाँ सरकार गठन भएको छ। हाम्रो प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीसँग कुराकानी गरेका छन्। हामी दुई देशबीचको पुरानो पारिवारिक सम्बन्धलाई अझ बलियो बनाउन प्रयासरत छौं।’
भारतीय विदेश मन्त्रालयका प्रवक्ताले मिडिया ब्रिफिङमा गल्तीवस विदेश सचिवको भ्रमण भन्नुपर्नेमा विदेश मन्त्री भनेको भनेर भ्रामक जानकारी दिएको तथ्य पनि काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।





