Skip to main content

सडक खोल्न युवकलाई रुखमा बाँधेर अमानवीय व्यवहार गरेको घटनामा वडाध्यक्षसहित पाँच जनाविरुद्ध जाहेरी

२९ वैशाख, सिराहा। सिरहामा एक युवकलाई रुखमा बाँधेर अमानवीय व्यवहार गरिएको घटनामा आरोपी वडाध्यक्षसहित पाँच जना विरुद्ध नेपाल प्रहरीले जाहेरी दर्ता गरेको छ। औरही गाउँपालिका–३ का वडाध्यक्ष जीवक्ष यादवसहित पाँच जनाविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय (जिप्रका), सिरहामा जाहेरी दर्ता गरिएको हो। जिप्रका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वासुदेव पाठकका अनुसार वडाध्यक्ष यादवबाहेक हेमा यादव, रामबाबु यादव, मुकेश यादव, सुदीप यादव र विसुन यादवविरुद्ध पीडित पक्षले जाहेरी दिएका छन्।

पक्राउ परेकाहरूविरुद्ध सडक खाली गराउने उद्देश्यले औरही गाउँपालिका–३ का स्थानीय वीरेन्द्र साहलाई रुखमा बाँधेर अभद्र व्यवहार गरिएको आरोप छ। ‘पीडित पक्षबाट आएको जाहेरी दर्ता गरिएको छ। अब पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाउँछौं,’ एसपी पाठकले भने, ‘अनुसन्धानका क्रममा जसको जस्तो भूमिका देखिन्छ, त्यसअनुसार कानुनी कारबाही हुनेछ।’

प्रहरीका अनुसार औरही–३ को पिपरा टोलमा लगभग एक वर्षअघि कृषि सडक निर्माण गरिएको थियो। सडक विस्तारका क्रममा वीरेन्द्र साहको जग्गा एकतर्फी रूपमा प्रयोग गरिएको भन्दै विवाद उत्पन्न भएको थियो। विवादकै कारण उक्त सडक सञ्चालनमा आउन सकेको थिएन। सोमबार वडाध्यक्ष जीवक्ष यादवसहितको टोली डोजर लिएर सडक खाली गराउन पुगेको थियो। त्यसक्रममा वीरेन्द्र साहले विरोध जनाएपछि उनलाई कुटपिट गर्दै रुखमा बाँधेर त्यहाँका संरचना डोजरले भत्काइएका छन्। घटनापछि स्थानीय स्तरमा तीव्र विरोध भइरहेको छ। घटनापछि जनमत पार्टीले दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा गाउँपालिका अध्यक्षसहितको समूहले स्थानीय नागरिकमाथि गैरकानुनी, दमनकारी र मानवअधिकार विपरीत व्यवहार गरेको आरोप लगाइएको छ।