अमेरिकी रक्षा मन्त्रालयले इरानसँगको युद्धमा २९ अर्ब डलर खर्च भएको जानकारी गरायो

पेन्टागनले इरानसँगको युद्धमा अहिलेसम्म २९ अर्ब डलर खर्च भइसकेको जनाएको छ। रक्षा सचिव पिट हेगसेथले अप्रिल २९ मा २५ अर्ब डलरको अनुमान गरेका थिए, जुन अहिले २९ अर्ब डलर पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानको शान्ति प्रस्ताव अस्वीकृत गरेपछि युद्धविरामलाई ‘मानवीय जीवनका लागि सहयोग’ भनेका छन्।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानसँगको युद्धमा अहिलेसम्म २९ अर्ब डलर खर्च भइसकेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व र सैन्य तयारीमा यसको प्रभावको विषयमा बढ्दो छानबिनको सामना गरिरहेको बेला यस्तो तथ्य सार्वजनिक भएको हो। क्यापिटल हिलमा बजेट सुनुवाइको क्रममा रक्षा विभागले यस्तो तथ्य सार्वजनिक गरेको हो। यो नयाँ तथ्याङ्क दुई साताअघि रक्षा सचिव पिट हेगसेथले दिएका अनुमानभन्दा करिब चार अर्ब डलर बढी हो।
हेगसेथ र ‘ज्वाइन्ट चिफ्स अफ स्टाफ’ का अध्यक्ष जनरल डनकेनले पेन्टागनका वित्त प्रमुख जुल्स हर्स्ट तृतीयसँग सन् २०२७ का लागि १.५ ट्रिलियन डलरको बजेट अनुरोधमा बहस भइरहेका बेला उनीहरूले युद्धको खर्च सार्वजनिक गर्नुपर्ने आवाज उठाएका थिए। ‘युद्धको बहसको समयमा यो खर्च २५ अर्ब डलर हुने भनिएको थियो,’ हेगसेथको अप्रिल २९ को अनुमानलाई उद्धृत गर्दै हर्स्टले सांसदहरूलाई भने, ‘तर संयुक्त कर्मचारी टोली र नियन्त्रक टोलीले निरन्तर त्यो अनुमान समीक्षा गर्दै आएको छ, त्यसैले अहिले यो बजेट २९ अर्ब डलर नजिक पुगेको छ।’
कंग्रेसले युद्ध खर्चको पूर्ण विवरण कहिले पाउनेछ भन्ने प्रश्नमा हेगसेथले भने, ‘प्रशासनले पेन्टागनको मुख्य बजेटबाट अलग “हामीलाई जे चाहिन्छ सो अनुरोध गर्नेछ” भनेको छ, तर त्यो पूरक अनुरोध कहिले आउने भन्ने कुरा भने स्पष्ट छैन।’ अमेरिकी राष्ट्रपति ट्रम्पले तेहरानको पछिल्लो शान्ति प्रस्तावलाई अस्वीकृत गरेपछि युद्धविरामलाई ‘मानवीय जीवनका लागि सहयोग’ को रूपमा व्याख्या गरेका छन्। हाउस एप्रोप्रिएशन कमिटीमा शीर्ष डेमोक्र्याट रोजा डेलाउरोले ‘यो युद्धबाट हामीले के हासिल गरेका छौं र कुन लागतमा’ भन्ने प्रश्न उठाएकी थिइन्। अर्की डेमोक्र्याट बेट्टी म्याककोलमले पेन्टागनलाई ‘पारदर्शिताको निरन्तर अभाव’ को आरोप लगाउँदै कंग्रेसलाई थप कोष स्वीकृत गर्नु अघि प्रशासनको दीर्घकालीन रणनीतिबारे स्पष्टता दिन आग्रह गरिन्। पश्चिम एसियामा महिनौंदेखि चलेको भारी क्षेप्यास्त्र र हवाई रक्षा अभियानपछि अमेरिकी हतियारको भण्डार छिटो घटिरहेकोले युद्धले चिन्ता बढाएको छ। हेगसेथले ‘युद्धले अमेरिकी युद्ध सामग्रीको भण्डार खतरनाक रूपमा समाप्त भएको’ भन्ने चेतावनीलाई अस्विकार गरेका छन्। ‘युद्ध सामग्रीको विषयलाई अपव्याख्या र गैरसहयोगी रूपमा बढाइचढाइ गरिएको छ,’ उनले भने, ‘हामीलाई थाहा छ हामीसँग के के छ। हामीसँग आवश्यक धेरै कुरा उपलब्ध छ।’






