तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर नियन्त्रणका लागि सार्वजनिक बिदा घोषणा गर्यो

३० वैशाख, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर नियन्त्रण गर्नका लागि जेठ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाका अनुसार बाँदरलाई सीमा काट्न धेरै व्यक्तिहरू संलग्न हुनुपर्ने भएकाले सार्वजनिक बिदा आवश्यक भएको हो। नगरप्रमुख अर्जुन माबोहाङले जारी गरेको सूचनामा उल्लेख छ, ‘बाँदर धपाउन ठूलो संख्यामा जनशक्ति आवश्यक भएकाले जेष्ठ १ गते शुक्रबार अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गरी सार्वजनिक बिदा घोषणा गरिएको छ।’
नगरप्रमुख माबोहाङका अनुसार बाँदर समस्या सतहमा सामान्य देखिए पनि यसले कृषक वर्गमा व्यापक असर पुर्याएको छ। बाँदरबाट कृषिउपज जोगाउन रातदिन खेतबारीमा सुरक्षा गर्नु पर्ने अवस्थाले कतिपय बालबालिका विद्यालय जान पाएका छैनन्। यस समस्यालाई मध्यनजर गर्दै लालीगुराँस नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत बजेटमार्फत ‘कृषिमा बाँदरले पुर्याएको क्षति न्यूनीकरण’ कार्यक्रम अघि बढाएको छ।
नगरपालिकाले वडा नम्बर ८ को मेघा पुच्छार, वडा नम्बर ६ र ८ को संगमस्थल नागेश्वरी तथा वडा नम्बर ५ को सिंथापा पुच्छार क्षेत्रमा अस्थायी संरचनासहित बाँदर हेरालु खटाएको छ। विशेष गरी जंगल नजिकका बस्तीहरूमा बाँदरको समस्या विकराल छ। नगरप्रमुख माबोहाङका अनुसार राष्ट्रिय तहमा दीर्घकालीन समाधान आवश्यक भए पनि तत्कालका लागि स्थानीय तहले आफ्नै स्रोत साधन प्रयोग गरी कृषकलाई राहत दिन प्रयास थालेको छ। बाँदर नियन्त्रण र खेती जोगाउन जेठ १ र २ गते ‘बाँदर लखेटी नगरपालिका सीमा काट्ने’ विशेष अभियान सञ्चालन गरिने लालीगुराँस नगरपालिका ७ का वडाध्यक्ष र प्रवक्ता देवेन्द्र खड्काले जानकारी दिए। बाँदर लखेट्ने अभियानमा किसान, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय नागरिकलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।






