
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं महाधिवेशनमा ३ सय ८७ संस्थाका १ हजार ६६३ प्रतिनिधि नयाँ नेतृत्व चयनका लागि पोखरामा भेला भएका छन्। वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला र हरिप्रसाद शरणबीच अध्यक्ष पदका लागि कडा प्रतिस्पर्धा भइरहेको छ। सिटौलाले अनलाइन टिकटिङ, जीपीएस प्रणाली र क्यासलेस प्रणालीलाई प्राथमिकता दिएका छन्। महासंघको ८६ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि विभिन्न पदमा मतदान जारी छ र वरिष्ठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायत पदमा धेरै उम्मेदवार प्रतिस्पर्धामा छन्। २९ वैशाख, पोखरा।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको चुनावी प्रतिस्पर्धा पोखरामा जारी छ। महासंघको नयाँ नेतृत्व चयन गर्न ३ सय ८७ संस्थाका १ हजार ६६३ प्रतिनिधि पोखरामा भेला भएका छन्। २७ वैशाखदेखि सुरु भएको सातौं महाधिवेशनले देशभरका यातायात व्यवसायीसँग सम्बन्धित प्रालि, कम्पनी, समिति तथा संगठनहरूको छाता संगठन महासंघको नयाँ नेतृत्व चयन गर्नेछ। नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) र अर्का वरिष्ठ उपाध्यक्ष हरिप्रसाद शरणबीच कडा प्रतिस्पर्धा देखिएको छ।
मंगलबार सिटौलाको पक्षमा कांग्रेस, एमाले, माओवादीले सहमति गराउने प्रयास गरेका थिए। तर, एउटा समूहले असहमति जनाउँदा प्रयास असफल भयो। अध्यक्ष पदमा पूर्वअध्यक्ष विजय स्वाँर र योगेन्द्र कर्मचार्यले फरक-फरक उम्मेदवारी दिने योजना बनाएका थिए। तर, कांग्रेसबाट सिटौलाकै नाम अघि आएपछि एउटा समूह असन्तुष्ट बनेको छ। सिटौला र हरिशरणसँगै, अध्क्षमा बलेफी गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्री र सानोकाजी प्रजापतिले पनि अध्यक्ष पदका आकांक्षा राखेका थिए।
सिटौलाले हिजोका ऐन-कानुनको प्रभावकारी कार्यान्वयन गर्दै प्रविधिमैत्री यातायात क्षेत्र बनाउन नेतृत्व गर्ने योजना बताएका छन्। ‘अनलाइन टिकटिङ, जीपीएस प्रणाली जडान र क्यासलेस प्रणाली – यी तीन वटा एजेन्डालाई मैले प्राथमिकतामा राखेको छु,’ सिटौलाले भने, ‘मजदुरदेखि व्यवसायी सबैका लागि सामाजिक सुरक्षाको विषय पनि मेरो प्राथमिकतामा छ।’ सामाजिक सुरक्षाको व्यवस्था भए तापनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउँदै उनले आफ्नो नेतृत्वले यसमा काम गर्ने प्रतिवद्धता जनाए।
सिटौलाले बिमा नीतिमा ठूलो समस्या रहेको औंल्याए। दुर्घटना बिमाको विषय क्षतविक्षत भएको र दुर्घटना न्यूनीकरणका लागि राज्यले बिमालाई व्यवस्थित नगर्ने हो भने काम नहुने बताए। राज्यसँग बिमा नीति ल्याउने र प्रभावकारी कार्यान्वयनका लागि आफू क्रियाशील रहने भन्दै उनले दुर्घटनापश्चात बिमा कम्पनीसँग धेरै झर्को हुनुपर्ने अवस्था रहेको जनाए। ‘बिमा कम्पनीको ज्यादतीलाई म रोकिन्छु। दुर्घटनापश्चात मृतक परिवारले ५ लाख र घाइतेलाई ३ लाख रुपैयाँ मात्र पाउँछ। घाइतेको उपचारमा करोडौं खर्च हुन्छ,’ सिटौलाले भने।
सडक व्यवस्थापन र पूर्वाधार निर्माणलाई व्यवस्थित र मर्यादित बनाउन आफूले उम्मेदवारी दिएको सिटौलाले बताए। दिर्घकालीन अनुभव भएतापनि कार्यकारी पदमा बस्नेहरूले गरेका कामले निराश बनाएकोले र नयाँ नेतृत्वले त्यस्तो रजगज तोड्ने उद्देश्यले आफूले उम्मेदवारी दिएको केसीले बताए। महासंघले सरकारसँग समन्वय गर्न नसक्दा पुराना ऐनमा नै चल्नु परेको र यातायात क्षेत्रका समस्याहरू यथावत रहेको उल्लेख गर्दै, दुर्घटना न्यूनिकरण, आयात र रुट परमिट नीतिलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।
महासंघको ८६ सदस्यीय केन्द्रीय कार्यसमिति रहनेछ। तर, ८४ पदमा मात्रै चुनाव हुने निर्वाचन अधिकृत योगेन्द्र केसीले जानकारी दिए। अध्यक्षमा सिटौला र केसीको प्रतिस्पर्धासँगै अन्य पदहरूमा पनि मतदान जारी छ। वरिष्ठ उपाध्यक्षका लागि ३ जना आवश्यक भए पनि ६ जना उम्मेदवार रहेका छन्। वरिष्ठ उपाध्यक्ष पदको लागि पोखराबाटै २ जना उम्मेदवार छन्। पोखराका ऐनकुमार साइ र केदार पौडेसँगै गोकर्णप्रसाद पराजुली, सानुकाजी प्रजापति, सुनील कुँवर र राजेन्द्र रिजाल प्रतिस्पर्धामा छन्। महासचिव पदका लागि डेकनाथ गौतम, शम्भुप्रसाद रिजाल र ज्ञानेन्द्र श्रेष्ठबीच प्रतिस्पर्धा छ। कोषाध्यक्ष पदका लागि किरणकुमार खड्का, राजेन्द्र आचार्य र राजेशकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन्।
नयाँ नेतृत्वसहितको कार्यसमिति गठनको लागि पोखरा इभेन्ट सेन्टरमा रामलक्ष्मण विद्युतीय मेसिनबाट मतदान भइरहेको छ।






