Skip to main content

बादलले बोलेका कुन-कुन शब्द संसदको अभिलेखबाट हटाइयो?

नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले संसद्मा असंसदीय शब्द प्रयोग गरेको भन्दै सभामुख डोलप्रसाद अर्यालले ती शब्दहरू संसदीय अभिलेखबाट हटाउन निर्देशन दिएका छन्। सभामुख अर्यालले ‘अराजकहरूको भिड र राष्ट्रिय झण्डा ओढेर देश जलाउनेहरू, नेपाली सेना मुकदर्शक’ भन्ने बादलका शब्दहरू संसदीय अभिलेखबाट हटाइएको जानकारी दिएका छन्। प्रतिनिधिसभा नियमावलीको नियम २१ अनुसार सदस्यहरूले अशिष्ट, अपमानजनक वा असंसदीय शब्द प्रयोग गर्न नहुने र सभामुखको अनुमति बिना बोल्न नपाइने प्रावधान छ। ३० वैशाख, काठमाडौं।

नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका तीनवटा शब्दहरू संसदीय अभिलेखबाट हटाइएका छन्। उनले संसद्मा सम्बोधन गर्ने क्रममा असंसदीय शब्द प्रयोग गरेको बताउँदै ती शब्दहरू अभिलेखबाट हटाइएको जानकारी सभामुख डोलप्रसाद अर्यालले दिएका छन्। सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत बादलले प्रयोग गरेका शब्दहरू संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएको बताएका छन्। तर, कुन-कुन शब्द हटाइएका हुन् भन्ने स्पष्ट नभएपछिको प्रश्नमा एमाले प्रमुख सचेतक ऐन महरले जानकारी मागेका थिए।

‘खासगरी प्रतिनिधिसभा नियमावली नियम २१ खण्ड घ मा असंसदीय र अशिष्ट शब्दको बारेमा स्पष्ट तरिकाले उल्लेख छ। त्यसैगरी, हाम्रो दलका नेताले बोलेका शब्दहरू संसदीय रेकर्डबाट हटाउन निर्देशन भएको कुरा छ। म कुन-कुन शब्द अशिष्ट ठहरिए, त्यसको जानकारी लिन चाहन्छु।’ भनेका थिए महरले। पछि सभामुख अर्यालले थापाका ती अशिष्ट शब्दहरु हटिएको जानकारी दिए। ‘अराजकहरूको भिड र राष्ट्रिय झण्डा ओढेर देश जलाउनेहरू, नेपाली सेना मुकदर्शक’ भन्ने शब्दहरू संसदीय अभिलेखबाट हटाइएको उनले उल्लेख गरे।

‘सभालाई अराजकहरूको भिड र राष्ट्रिय झन्डा ओढेर देश जलाउनेहरू, नेपाली सेना मुकदर्शक भन्ने शब्दहरू सबैको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन गरेको छु,’ सभामुख अर्यालले भने। बादलले के भनेका थिए? सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिन मंगलबार प्रतिनिधि सभाको रोस्टममा उभिएका बादलले रास्वपाको उदय, जनयुद्ध आन्दोलनका क्रममा देखिएका दृष्यहरू र नेपाली सैनिक पक्षबारे प्रश्न उठाएका थिए। ‘देश खरानी हुँदै गरेको बेला र आफ्नै परमाधिपतिको मुख्यालयमा आक्रमण हुँदा नेपाली सेना राष्ट्रिय प्रमुख रक्षक रहस्यमय तरिकाले किन मूकदर्शक बन्यो?’ उनले प्रश्न गरे।

‘लिपुलेकमा अतिक्रमण हुँदा पनि बेखबर रहेको नेपाली सेनाले सुकुम्बासी बस्तीमा किन परेड खेल्दैछ?’ देशमा एकलौटी शासन गर्ने योजनाबद्ध प्रक्रियामा रास्वपा रहेको तर्क गर्दै थापाले नीति तथा कार्यक्रमले समेट्न छाडेको भन्दै थप भने, ‘राष्ट्रिय झण्डा ओढेर देश जलाउने देशद्रोहीप्रति यो नीति तथा कार्यक्रम किन मौन छ? असंलग्न नीतिको खिल्ली उडाउँदै सशस्त्र टीओबीहरूको ताण्डव नृत्यप्रति यो नीति तथा कार्यक्रम किन चुपचाप छ?’ रास्वपालाई ‘अराजक भीड’ भन्दै थापाको ती कडा अभिव्यक्तिप्रति रास्वपा सांसदहरूले आपत्ति जनाएर ती शब्दहरू रेकर्डबाट हटाउन माग गरेका थिए। बुधबारको प्रतिनिधिसभा बैठकमा पनि सत्तारुढ रास्वपा सांसदहरूले थापाको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउनुपर्ने माग दोहोर्याएका थिए।

संसद सदस्यहरूको आचरणबारे नियमावलीमा के भनिएको छ? प्रतिनिधिसभा नियमावलीको नियम २१ मा छलफलमा भाग लिनेलाई पालना गर्नुपर्ने नियमहरू उल्लेख छन्। जसअनुसार सभामुखको ध्यानाकर्षण गराउनु पर्ने, सभामुखले नाम वा इशारा गरेपछि मात्र बोल्न पाइने कुरा उल्लेख छ। साथै सभामुखको आचरणको आलोचना गर्न नपाइने र ‘पद अनुकूल आचरण गरेको छैन’ भन्नेलाई बाहेक कुनै आलोचना गर्न नहुने प्रावधान छ। संविधानको धारा १०५ ले बहसमा बन्देज गरेका विषयमा छलफल गर्न नहुने विषय पनि यस नियमावलीमा समावेश छ। अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार तथा नैतिकताको विरोध गर्ने शब्द प्रयोग गर्न, कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा असर गर्ने गरी बोल्न नहुने प्रावधान पनि छ। बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पुर्याउने उद्देश्यले दुरुपयोग गर्न नहुने विषय पनि समेटिएको छ।