
फ्लाइङ डिस्क भनेको डिस्कलाई हावामा उडाएर खेलिने खेल हो। सामान्यतया फ्लाइङ डिस्कका मुख्य गरी ४ प्रकारका इभेन्ट हुन्छन्। जसमध्ये सबैभन्दा लोकप्रिय हो, अल्टिमेट फ्रिस्बी। ३० वैशाख, काठमाडौं। नेपालमा पहिलो पटक फ्लाइङ डिस्क प्रतियोगिता आयोजना हुँदैछ। नेपाल फ्लाइङ डिस्क महासंघको आयोजनामा जेठ ८ र ९ गते फ्लाइङ डिस्क अन्तर्गत ‘हिमालय स्प्रिट कप’ अल्टिमेट फ्रिस्बी प्रतियोगिता हुन लागेको छ। कपन ह्यान्डबल ग्राउन्डमा आयोजना हुने प्रतियोगितामा ५ टोलीले सहभागिता जनाउने निश्चित भएको महासंघका महासचिव सन्तोष खड्काले जानकारी दिए। उनका अनुसार महासंघमा दर्ता भएका ५० खेलाडीमध्येबाट ४ टिम बनाइनेछन्। होप फाउन्डेसनबाट एक टोलीले सहभागिता जनाउने निश्चित भएको छ भने ब्रिटिस स्कूलबाट पनि सहभागि हुनेबारे छलफल भइरहेको महासचिव खड्काले बताए। जेठ ८ गते लिग चरणका खेलहरू र ९ गते फाइनल प्रतिस्पर्धा हुनेछ। आयोजकले यो प्रतियोगिताले नयाँ खेल संस्कृतिको सुरुवात गर्ने आशा राखेका छन्। विजेता खेलाडीहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। यस प्रकारको प्रतियोगिता प्रत्येक वर्ष निरन्तर रूपमा आयोजना गर्ने लक्ष्य महासचिव खड्काले व्यक्त गरे। महासचिव खड्काका अनुसार नेपाल फ्लाइङ डिस्क महासंघ विश्व फ्लाइङ डिस्क महासंघमा गत अक्टोबरमा दर्ता भएको हो। चार प्रदेश र २० जिल्लामा समिति विस्तार गर्नुपर्ने भएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता हुन नसकेको उनले बताए। छिट्टै राखेपमा दर्ता गरिने प्रक्रिया अगाडि बढिरहेको छ।
फ्लाइङ डिस्क कसरी खेलिन्छ? फ्लाइङ डिस्क भनेको डिस्कलाई हावामा उडाएर खेलिने खेल हो। सामान्यतया फ्लाइङ डिस्कका ४ मुख्य प्रकारका इभेन्ट हुन्छन्। जसमध्ये सबैभन्दा लोकप्रिय हो, अल्टिमेट फ्रिस्बी। यस इभेन्टमा एक टिममा ७ जना खेलाडी हुन्छन् र दुई टिमबीच डिस्क पास गर्दै विपक्षीको ‘इन जोन’ मा पुर्याएपछि अंक प्राप्त हुन्छ। मैदानका दुवैतर्फ इन जोन हुन्छन्। नेपाल फ्लाइङ डिस्क महासंघले आयोजना गर्न लागेको इभेन्ट यसै हो। महासंघका महासचिव खड्काका अनुसार मैदान सानो भएकाले एक टिममा ५ खेलाडी रहनेछन्। दुई टिमलाई १०० मिनेटमा दुई हाफमा खेलाइनेछ। सो अवधिमा जसले विपक्षी टोलीको ‘इन जोन’ मा डिस्क पुर्याउँछ, त्यो टिम विजयी हुन्छ। डिस्क गल्फ फ्लाइङ डिस्कको अर्को इभेन्ट हो। यो गल्फ खेलझैं हुन्छ, तर बल र क्लबको सट्टा डिस्क प्रयोग गरिन्छ। डिस्कलाई बास्केटमा छिराउनुपर्छ। व्यक्तिगत र समूह दुवै रूपमा खेल्न सकिन्छ। जसले सबैभन्दा धेरै पटक सफलतापूर्वक छिराउँछ, त्यो विजेता हुन्छ। गट्स इभेन्टमा एउटा टिमले डिस्क फाल्छ र अर्को टिमले एक हातले क्याच गर्ने प्रयास गर्छ। क्याच गर्न नसके थ्रो गर्ने टिमलाई अंक दिइन्छ। यदि डिस्क सिमानाबाहिर गएको खण्डमा अंक दिइँदैन। यस इभेन्टमा प्रतियोगिताअनुसार निश्चित अंक वा समयसीमा तोकिएको हुन्छ। फ्लाइङ डिस्कको अर्को इभेन्ट फ्रिस्टाइल फ्रिस्बी हो जसमा एक्लै वा दुई जनाको टिममा खेलिन्छ। यस इभेन्टमा डिस्क प्रयोग गरी थुप्रै ट्रिक, कन्ट्रोल र स्पिन प्रदर्शन गरिन्छ। सो आधारमा नतिजा निर्धारण गरिन्छ। निश्चित समय दिइन्छ र निर्धारित समयमा सबैभन्दा बढी अंक हासिल गर्ने टिम विजेता हुन्छ।






