
अन्तर्राष्ट्रिय अपराध अदालतले मानवताविरुद्धको अपराधको आरोपमा खोजी गरिरहेका एक सिनेटरलाई पक्राउ गर्न प्रहरी र समुद्री सैनिक उपस्थित भएपछि फिलिपिन्सको सिनेट भवनमा एक दर्जनभन्दा बढी गोली चलेका छन्। अल जजिराका अनुसार बुधबार साँझ राइफल र सुरक्षात्मक पोशाक लगाएका सैनिकहरू संसद भवनको सिँढी चढेपछि केही मिनेटमै गोलीबारी भएको थियो, जसले गर्दा पत्रकारहरू सुरक्षित स्थानतर्फ भागेका थिए। करिब १५ राउन्ड गोली चलेको रिपोर्ट छ। गोली कसले चलायो भन्ने तत्काल स्पष्ट हुन सकेको छैन।
फिलिपिन्सका सिनेटर रोनाल्ड डेला रोजाले आफू पक्राउ पर्न सक्ने आशंका व्यक्त गर्दै मानिसहरूलाई संसद् भवनमा आएर उनलाई हिरासतमा लिन नदिन आग्रह गरेका थिए। बुधबार फेसबुकमा पोस्ट गरिएको भिडियोमा उनले भनेका थिए, ‘म तपाईंहरूलाई अपील गर्छु। कृपया मलाई सहयोग गर्नुहोस्। अर्को कुनै फिलिपिनो नागरिकलाई हेग पठाउन नदिनुहोस्।’ डेला रोजाको उक्त सन्देशपछि फिलिपिन्सका कानुन कार्यान्वयन निकायका अधिकारीहरू सिनेट भवन बाहिर जम्मा हुन थालेका थिए।
पूर्वप्रहरी प्रमुख डेला रोजा पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्तेको चर्चित ‘ड्रग्स विरुद्धको युद्ध’ अभियानका प्रमुख कार्यान्वयनकर्ता थिए। उनले मंगलबार राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरलाई आफूलाई नबुझाउन आग्रह गर्दै स्वदेशमै न्यायको सामना गर्न तयार रहेको बताएका थिए। पक्राउको डरले आफ्नै संसदीय कार्यालयमा बसेका डेला रोजाले आफूले देशको ईमान्दारीपूर्वक सेवा गरेको बताएका छन्। आइसीसीले सोमबार डेला रोजाविरुद्ध पक्राउ पुर्जी सार्वजनिक गरेको थियो। गत नोभेम्बरमै पुर्जी जारी गरिएको थियो। उनीमाथि मानवताविरुद्धको अपराधको आरोप छ। यही आरोपमा ८१ वर्षीय पूर्वराष्ट्रपति दुतेर्ते पनि गत वर्ष पक्राउ परेपछि हाल हेगमा मुद्दाको प्रतीक्षामा छन्।





