
नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा भारतस्थित काउन्सिल फर इन्टिग्रेटिभ वैद्य इनोभेसन एन्ड कोलाबरेसन (सिभिक) ले आगामी जुन १२ देखि १४ सम्म काठमाडौंमा चौथो इन्टरनेसनल आयुष कन्क्लेभ आयोजना गर्न लागेको छ। कार्यक्रममा आयुष क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई विभिन्न अवार्ड प्रदान गरिनेछ भने सबैभन्दा ठूलो क्लिनिकल डायग्नोसिस सत्र सञ्चालन गरी ‘लेजेन्ड्स वर्ल्ड रेकर्ड’ कायम गर्ने प्रयास गरिनेछ।
आयुष प्रणालीलाई विश्वव्यापी मान्यता दिलाउने र चिकित्सकहरूलाई भविष्य उन्मुख प्रविधिसँग परिचित गराउने उद्देश्यले भारतका २० भन्दा बढी राज्य र १० भन्दा बढी देशबाट २०० भन्दा बढी प्रतिनिधि सहभागी हुने छन्। कन्क्लेभमा आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, युनानी, सिद्ध, होमियोप्याथी लगायत विभिन्न आयुष प्रणालीहरू एउटै मञ्चमा प्रस्तुत गरिनेछन्। सहभागीहरूले स्वास्थ्य अभ्यासमा कृत्रिम बुद्धिमत्ता र आधुनिक प्रविधिको प्रयोगसम्बन्धी जानकारी प्राप्त गर्नेछन्।
संस्थाका प्रतिनिधि डा. एमएम कुरैशीका अनुसार कार्यक्रममा वैज्ञानिक सत्रहरू, अनुसन्धानमा आधारित प्रस्तुतीकरण र अन्तर्राष्ट्रिय ज्ञान आदानप्रदानलाई विशेष प्राथमिकता दिइनेछ। साथै, आयुष लेजेन्डरी अवार्ड, आयुष एक्सिलेन्स अवार्ड, आयुष राइजिङ अवार्ड र आयुष इन्टरप्राइज अवार्डद्वारा सम्मान गरिनेछ। चेम्बर अफ कमर्सका ट्रेड फेयर समिति सभापति राष्ट्रभूषण चाकुबजीका अनुसार, यस्तै प्रकारको आयुष कन्क्लेभ भारतका आग्रा, गोवा र जयपुरमा सफलतापूर्वक सम्पन्न भइसकेको छ। नेपालमा भने यस प्रकारको कन्क्लेभ पहिलो पटक आयोजना हुन लागेको हो।






