Skip to main content

दुलाल: सामान्य सुधारले ठूला लक्ष्य हासिल गर्न सकिँदैन

नेपाल कम्युनिस्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले नीति तथा कार्यक्रममा संविधानको मर्म अनुसार समाजवाद उन्मुख अर्थतन्त्रको स्पष्ट राजनीतिक लक्ष्य समावेश हुनु आवश्यक भएको बताएका छन्। उनले समानुपातिक र समावेशी सिद्धान्तमा आधारित समतामूलक समाज निर्माण गर्ने सङ्कल्प नीति तथा कार्यक्रममा ओझेलमा परेको बताए।

दुलालले सुशासन, सार्वजनिक सेवा प्रवाह र समन्यायिक वितरणमार्फत समृद्ध राष्ट्र निर्माण गर्ने सरकारको लक्ष्य सकारात्मक भएता पनि यसको वैचारिक आधार र कार्यक्रम स्पष्ट हुनुपर्ने बताए। उनले सरकारले १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने र औसत ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखे पनि तिनलाई पूरा गर्ने ठोस आधार नदेखिएको टिप्पणी गरे।

मुख्य सचेतक दुलालले मुलुकको वन क्षेत्र र खनिज स्रोतहरूको उपयोगमा सरकारले पर्याप्त ध्यान नदिएको उल्लेख गरे। उनले कार्बन ट्रेडिङ जस्ता बाह्य अवधारणाबाट बाहिर निस्केर युरेनियम, ग्रेनाइट, मार्बेल, फलाम र पेट्रोलियमजस्ता स्वदेशी खनिज स्रोतको उत्खनन र उपयोगले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने बताए।

‘यी नाराहरूलाई सहयोग गर्ने विषयगत कार्यक्रम पर्याप्त छैनन्। सामान्य कानुनी र संरचनागत सुधारले मात्र यति ठूला लक्ष्य हासिल गर्न सम्भव छैन,’ दुलालले भने। उनले कृषि क्षेत्रमा बाँदर र बँदेलजस्ता वन्यजन्तुले पुर्‍याउने क्षतिपूर्तिको व्यवस्था र बीमाको माग पनि गरे।