राखेपले खेल संघहरूलाई १५ असारभित्र नवीकरण गर्ने सूचना जारी, नगरे खारेजको चेतावनी

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेल संघहरूलाई असार १५ गतेभित्र आफ्नो दर्ता नवीकरण गर्न निर्देशन दिएको छ। राखेपले यदि यस मिति भित्र नवीकरण नहुँदा भने प्रचलित कानुन अनुसार खारेजको प्रक्रिया अघि बढाउने जनाएको छ। हाल ७५ दर्ता भएका खेल संघमध्ये ३३ संघले नवीकरण गरेका छैनन्, जसमा नेपाल क्रिकेट संघ (क्यान) समेत सामेल छ।
राखेपले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र नियमावली, २०७९ अनुसार पटक-पटक नवीकरणको सूचना प्रकाशित गरिसकेको भए पनि कार्यान्वयन नभएको भन्दै असार १५ गतेसम्मको समय म्याद दिँदै पुनः सूचना जारी गरेको हो। राखेपले तोकिएको समयभित्र नवीकरण नभए प्रचलित कानुन अनुसार खारेज प्रक्रिया अगाडि बढाइने व्यवस्था रहेको जनाएको छ।
राखेपको वेबसाइटमा प्रकाशित सूचनाअनुसार ७५ दर्ता भएका संघमध्ये ३३ संघले अझै नवीकरण गराएका छैनन्। चर्चित नेपाल क्रिकेट संघ (क्यान)ले समेत नवीकरण प्रक्रिया पूरा गराएको छैन। नवीकरणको लागि वार्षिक प्रतिवेदन, विधान, भावी योजना, लेखा परीक्षण, र कम्तीमा एक राष्ट्रिय स्तरको प्रतियोगिता सम्पन्न गरेको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था छ। यद्यपि सबै आवश्यक कागजात उपलब्ध गराउन नसकेका कारण धेरै खेल संघहरूले नवीकरण नगर्ने गरेका छन्।






