
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चाँडै चीनको भ्रमण गर्ने तयारी पूरा भएको क्रेमलिन प्रवक्ता ड्मित्री पेस्कोभले जानकारी दिएका छन्। पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच ४० पटकभन्दा बढी भेटवार्ता भइसकेको छ, र पछिल्लो भेट गत वर्ष सेप्टेम्बरमा भएको थियो। रूस र चीनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा अमेरिकाले प्रस्तुत गरेका प्रस्तावहरू विरुद्ध सामूहिक भिटो प्रयोग गर्दै आएका छन्।
३१ वैशाख, काठमाडौं। बिहीबार क्रेमलिनका प्रवक्ता ड्मित्री पेस्कोभले रोयटर्ससँग कुरा गर्दै राष्ट्रपतिको चीन भ्रमणको सम्पूर्ण तयारी पूरा भएको र यो भ्रमण छिटो हुने जानकारी दिएका छन्। युक्रेन युद्ध सुरु भएयता बेइजिङ र मस्कोबीचको सैन्य तथा आर्थिक सम्बन्ध थप विस्तार भएको छ, जसलाई पश्चिमी मुलुकहरूले संवेदनशीलताका साथ हेरिरहेका छन्।
राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वर्षौँदेखि ४० पटकभन्दा बढी भेटवार्ता भइसकेको छ। उनीहरूबीचको पछिल्लो भेट गत वर्ष सेप्टेम्बरमा चीनको विशाल सैन्य परेडका क्रममा बेइजिङमा भएको थियो। रूसले युक्रेनमाथि आक्रमण सुरु गर्नुभन्दा तीन हप्ताअघि सन् २०२२ फेब्रुअरीमा दुई नेताले ‘नो लिमिट्स’ को रणनीतिक साझेदारीमा हस्ताक्षर गरेका थिए। हालैका समयमा चीन र रूसले इरान र भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीको संयुक्त रूपमा विरोध गर्दै आएका छन्।






