
नेकपा एमाले संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले जनताको अपेक्षा सम्बोधन गर्न नसकेको बताएकी छन्। उनले नीति तथा कार्यक्रममा स्पष्ट दृष्टि, कार्यान्वयनको आधार र जनजीवन परिवर्तन गर्ने साहसिक संकल्पको अभाव रहेको उल्लेख गरिन्। अर्यालले भने, “यो नीति तथा कार्यक्रम सरकारको मात्र नभई राष्ट्रको साझा दस्तावेज हो” र आलोचना गर्नु विरोधको लागि नभएको स्पष्ट पारिन्।
३१ वैशाख, काठमाडौं। अर्यालले प्रतिनिधि सभामा बिहीबार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा वर्तमान सरकारप्रति जनताले असाधारण आशा राखेको भएपनि सरकारले ल्याएको नीति तथा कार्यक्रमले उनीहरूको भरोसालाई सम्बोधन गर्न नसकेको बताइन्। उनले भनिन्, “यो सरकारप्रति नेपाली जनताले असाधारण आशा राखेका थिए। जनताले सोचेका थिए, अब शासनको शैली फेरिनेछ, राज्यको सोच फेरिनेछ, प्राथमिकता फेरिनेछ, तर दुखका साथ भन्नुपर्छ सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले जनताको आशा, उत्साह र भरोसालाई सम्बोधन गर्न सकेन।”
उनले नीति तथा कार्यक्रम पढ्दा यस्तो लाग्ने बताइन् कि शब्द मात्र छन्, दृष्टि छैन। उनले थपिन्, “घोषणा छन्, तर दिशानिर्देश छैन। नाराहरू छन्, तर कार्यान्वयनको आधार छैन।” उनले आफूलाई नवीन सोचको सरकार बताउने नेतृत्वले ल्याएको दस्तावेजमा नवीनता र स्पष्टता नरहेको टिप्पणी गरिन्। अर्यालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय संकल्पलाई नीति तथा कार्यक्रमबाट हटाइएको भन्दै असन्तुष्टी जनाइन्।
उनले भनिन्, “आफूलाई नवीन सोचको अवतार भनिने सरकारले ल्याएको दस्तावेजमा न त नवीनता देखियो, न त स्पष्टता, न त जनताको जीवन बदल्ने साहसिक संकल्प नै देखियो। नीति हो कि कार्यक्रम, यो पनि स्पष्ट छुट्याइएको छैन। नीति के हो, कार्यक्रम के हो, छुट्याउन पनि गाह्रो छ।” उनले यसलाई राष्ट्रको साझा दस्तावेजको रूपमा लिई यसको उत्कृष्टता सबैको चाहना भएको बताइन्।






