
३१ वैशाख, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी जिनपिङबीच बेइजिङको ग्रेट हल अफ द पिपुलमा आयोजित ऐतिहासिक शिखर वार्ताले नयाँ युगको सूत्रपात गरेको छ। प्रतिस्पर्धा, अविश्वास र द्वन्द्वको जोखिमले भरिएको वर्तमान विश्व परिवेशमा दुई महाशक्तिका नेताले साझा हित भिन्नताभन्दा ठूलो रहेको उद्घोष गर्दै सन् २०२६ लाई अमेरिका–चीन सम्बन्धको कोसेढुङ्गा वर्ष बनाउने सङ्कल्प व्यक्त गरेका छन्। करिब दुई घण्टाभन्दा लामो मुख्य वार्तामा ताइवान, पश्चिम एसिया (इरान युद्ध), कृत्रिम बुद्धिमत्ता (एआई), व्यापार र विश्वव्यापी भूराजनीतिक परिवर्तनजस्ता जटिल विषयमा व्यापक छलफल भयो।
बेइजिङ आगमन र भव्य स्वागत राष्ट्रपति ट्रम्पको यो भ्रमण सन् २०१७ पछि कुनै पनि अमेरिकी राष्ट्रपतिको पहिलो चीन यात्रा हो। बुधबार साँझ बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा उनलाई चिनियाँ उपराष्ट्रपति हान झेङले स्वागत गरे। विमानस्थलमा हातमा फूल र झन्डा लिएर बालबालिकाले स्वागतका नाराबाजी गर्दै दुई देशबीचको कूटनीतिक सौहार्दता देखाए। यो भ्रमणको मिति पहिले मार्चमा तोकिएको थियो, तर अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि उत्पन्न क्षेत्रीय तनावका कारण स्थगित भएको थियो। ट्रम्पको टोलीमा अमेरिकी प्राविधिक र व्यावसायिक क्षेत्रमा नाम चलेका दिग्गजहरू थिए, जसमध्ये एनभिडियाका जेन्सेन हुआङ, एप्पलका टिम कुक, टेस्लाका एलन मस्क र बोइङका प्रतिनिधि सामेल थिए।
बिहीबार बिहान ग्रेट हल अफ द पिपुलमा आयोजित स्वागत समारोह पूर्ण सैन्य सम्मानसहित सम्पन्न भयो। राष्ट्रपति सी र ट्रम्पले व्यक्तिगत रूपमा हार्दिक स्वागत गरेपछि समारोह कक्ष तालिमय बनेको थियो। २१ तोपको सलामी र राष्ट्रिय गानका साथ दुई नेताले पिपुल्स लिबरेसन आर्मी (पीएलए) को गार्ड अफ अनर निरीक्षण गरे। एउटै डुङ्गा र रचनात्मक रणनीतिक स्थिरताको नारा वार्ताको सुरुआतमा राष्ट्रपति सीले दुवै राष्ट्रलाई ऐतिहासिक प्रश्नहरूको सामना गर्न आग्रह गरे। उनले प्रश्न राखे, ‘के हामी “थ्युसिडाइडिज ट्र्याप” (उदाउँदो र स्थापित शक्तिबीचको अपरिहार्य द्वन्द्वको सिद्धान्त) लाई भत्काउँदै ठूला राष्ट्रहरूबीचको सम्बन्धको नयाँ ढाँचा बनाउन सक्छौँ?’ राष्ट्रपति ट्रम्पसँग मिलेर चीन–अमेरिका सम्बन्धलाई सही दिशामा अगाडि बढाउने र सन् २०२६ लाई द्विपक्षीय सम्बन्धको ऐतिहासिक वर्ष बनाउने सङ्कल्प व्यक्त गरे।






