Skip to main content

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

समाचार सारांश समीक्षा पश्चात तयार। प्रतिनिधिसभाको बैठक ३१ वैशाख, काठमाडौंमा १५ मिनेटका लागि स्थगित भएको छ। ३१ वैशाख, काठमाडौं। प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री बालेन शाह नै उपस्थित हुनुपर्ने माग गर्दै सदनमा अवरोध गरेका छन्। प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिने तयारी गरेपछि विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेका हुन्।

त्यसपछि सभामुख डीपी अर्यालले प्रमुख प्रतिपक्षी दलकी सचेतक वासना थापालाई वक्तव्यका लागि समय दिए। उनले प्रधानमन्त्रीको उपस्थितिको माग गरिन्। नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिने तयारी गरेपछि विपक्षीले विरोध जनाएका हुन्। ‘हामी दिनभर चुपचाप सुनेर बसेका थियौं। जिम्मेवारीपूर्वक प्रतिपक्षको भूमिका निभाउँदै आएका छौं। नीति तथा कार्यक्रममाथिको छलफलको जवाफ दिने बेलामा प्रधानमन्त्री कहाँ छन्?’, उनले भनिन्, ‘स्वयं प्रधानमन्त्रीकै अपमान हो यसले र हामी रुलिङ चाहन्छौं। नो इफ नो बट, प्रधानमन्त्रीले जवाफ दिनै पर्छ। प्रधानमन्त्री उपस्थित नभएसम्म हाम्रो अवरोध जारी रहनेछ।’

त्यस्तै नेकपा एमालेका ऐन महरले प्रधानमन्त्री जवाफ दिन कम्तिमा पनि उपस्थित हुनुपर्ने बताए। नेकपाका युवराज दुलालले विपक्षीले दिनभर धैर्यपूर्वक सदन सञ्चालनको वातावरण बनाए पनि सत्तापक्षले त्यसलाई बेवास्ता गरेको बताए। श्रम संस्कृति पार्टीका आरेन राईले सत्तापक्षकै सांसदहरूको गुनासो सम्बोधन गर्न प्रधानमन्त्री जवाफ दिन उपस्थित हुनुपर्ने बताए। राप्रपा का ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीले सदनमा भाषण गर्न नभई नीति तथा कार्यक्रममाथिको जवाफ दिन आएका हुन् भने। विपक्षीले अवरोध जारी राखेपछि सभामुख डीपी अर्यालले छलफल सकिइसकेको र जवाफ मन्त्रीबाट लिन उपयुक्त वातावरण बनाउन आग्रह गरे। अवरोध जारी रहने भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेको जानकारी गराए।