
अधिकारकर्मी रूबी खान १८ दिनदेखि बाँकेमा निर्मला कुर्मी मुद्दा लगायत विभिन्न महिला हिंसाका घटनाहरूमा न्यायको माग गर्दै आमरण अनशनमा छिन्। प्रहरीले वैशाख १५ गते धर्नामा बसेकी महिला अधिकारकर्मीहरूलाई जबर्जस्ती उठाएर हिरासतमा राखेको थियो। रूबीले ९ बुँदे माग राख्दै न्यायका लागि आन्दोलन गरिरहेकी छन् र उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ।
१ जेठ, काठमाडौं। १८ दिनदेखि अधिकारकर्मी रूबी खान आमरण अनशनमा रहिरहेकी छिन्। निर्मला कुर्मीलगायत विभिन्न महिला हिंसाका मुद्दामा न्याय माग्दै शान्तिपूर्ण धर्नामा बसेकी उनीसहित अन्य अधिकारकर्मीहरूलाई जिल्ला प्रशासन बाँकेको कार्यालय अगाडि प्रहरीले जबर्जस्ती उठाएर हिरासतमा राखेको भन्दै रूबीले हिरासतमै वैशाख १५ गतेदेखि आमरण अनशन सुरु गरिन्।
महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष सकिना साहका अनुसार, महिला अधिकारकर्मीहरू वैशाख १२ गतेदेखि प्रत्येक दिन दिउँसो ३ बजेदेखि ५ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका थिए। उनले भनिन् कि प्रहरीले १५ गते ब्यानर खोसेर धर्ना नबस्न भनिन् र नियन्त्रणमा लिएर हिरासतमा राख्यो। उनीहरूविरुद्ध सोही दिन पक्राउ पुर्जी जारी गरिएको थियो।
पक्राउ पुर्जामा उल्लेख छ, ‘तपाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नुपर्ने भएकाले यो पक्राउ पुर्जी जारी गरिएको छ।’ तर उनीहरूले भने कि शान्तिमा कुनै खलल पुर्याइएको थिएन। ‘हामीले कुनै हुलदंगा गराएका थियैनौं, शान्तिपूर्वक बसेका थियौं,’ साहले भनिन्, ‘तर शान्तिसुरक्षा भंग गरेको आरोप लगाइएको छ।’
रूबीलाई पक्राउ पुर्जी जारी गरिएको विषयमा सामाजिक सञ्जालमा पनि सरकारको आलोचना भैरहेको छ। पूर्वपत्रकार तथा वृहत नागरिक आन्दोलनका अभियन्ता नारायण वाग्लेले सरकारलाई प्रश्न गरेका छन्। उनले प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै संसदलाई नसुन्ने र सडकलाई पनि थुन्ने भनी रूबीको पक्राउको विरोध गरेका छन्।
‘नागरिक अधिकारकर्मी रूबी खानलाई पक्राउ पुर्जी जारी गरिएको छ। सार्वजनिक शान्तिविरुद्धको आरोप लागेको छ। प्रहरी अनुसन्धानको माग गर्दै वर्षौंदेखि संघर्षरत नेपालगन्जकी यी अधिकारकर्मीलाई पक्राउ गरेर के न्यायको माग बन्द हुन्छ?’ उनले फेसबुकमार्फत प्रश्न गरे, ‘संसद्लाई नसुन्ने, अनि के अब सडकलाई पनि थुन्ने?’
अनशनरत रूबी खानको स्वास्थ्य अवस्था क्रमशः बिग्रिँदो छ। फोन सम्पर्कमा रहेकी खानले पनि अनशनले गर्दा स्वास्थ्य कमजोर हुँदै गएको जनाइन्।
सकिना साहका अनुसार, यही विषयमा रूबीसहित महिलाहरूले अहिले सम्म छैटौं पटक आन्दोलनमा उत्रिएको हो भने, यो आमरण अनशन उनको चौथो हो। विगतका आन्दोलनपछि सरकारले पटक-पटक सम्झौता गरिरहे पनि कार्यान्वयन नगरेपछि यसपटक रूबीले पुनः आमरण अनशनको बाटो रोजेकी छन्।






