टेबलटेनिसका अन्तर्राष्ट्रिय पदक विजेता निश्चललाई आरम्भ विद्यालयले गर्यो सम्मान

दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा रजत र काँस्य पदक विजेताका रूपमा निश्चल थापा क्षेत्रीलाई गोल्कुपाखास्थित आरम्भ संस्कार विद्यालयले सम्मान गरेको छ। १ जेठ, काठमाडौं। भारतको सिम्लामा अप्रिल ८ देखि ११ तारिखसम्म सम्पन्न उक्त प्रतियोगितामा निश्चलले यू–१५ ब्वाइज डबल्समा रजत र यू–१५ ब्वाइज टिम इभेन्टमा काँस्य पदक प्राप्त गरेका थिए। आरम्भका प्रिन्सिपल नरेशप्रसाद श्रेष्ठ र भाइस प्रिन्सिपल दिनेश श्रेष्ठले निश्चललाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए।
त्यसै अवसरमा दक्षिण कोरियाको इन्चोनमा हुँदै गरेको इन्टरनेसनल क्रिस्टियन टेबलटेनिस प्रतियोगितामा सहभागी हुने प्राज्ञा महर्जनलाई पनि बिदाइ गरिएको थियो। निश्चल कक्षा ९ र प्राज्ञा कक्षा ७ मा आरम्भमै अध्ययनरत छन्। आरम्भले दुवैलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ। मे २७ तारिखमा हुने उक्त प्रतियोगितामा नेपालबाट प्राज्ञासहित ६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
अन्य खेलाडीहरूमा हिमाल विष्ट, योङगी पौडेल, सुरम्य शाक्य, रिजन शाक्य र रिभानमुनि वज्राचार्य रहेका छन्। प्रतियोगिताअघि यी खेलाडीहरू इन्चोनमै मे १६ देखि २६ तारिखसम्म याङ योङजा टेबलटेनिस मिसन इन्टरनेसनल क्याम्पमा सहभागी हुने छन्। टोली शनिवार प्रस्थान गर्नेछ। कार्यक्रममा सम्बोधन गर्दै प्रिन्सिपल श्रेष्ठले निश्चलको सफलताले विद्यालय मात्र होइन, सिंगो राष्ट्रको प्रतिष्ठामा समेत वृद्धि गरेको बताए। साथै, आरम्भले प्रतिभाशाली खेलाडीको खेल यात्रा अगाडि बढाउन सहज बनाउने उद्देश्यले छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिएका थिए। उनले प्राज्ञालाई पनि सफलताका लागि शुभकामना व्यक्त गरे। भाइस प्रिन्सिपल दिनेश श्रेष्ठले आरम्भले विद्यार्थीको चौतर्फी विकासका लागि शिक्षासँगै खेलकूद र अन्य क्रियाकलापमा पनि विशेष जोड दिइरहेको बताए।






