
राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथि लगेको निलम्बन फुकुवा गरेको छ। एन्फा महासचिवसहितका पदाधिकारीहरूले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई भेटेर छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो। राखेपले गत ११ चैतमा खेलकुद विकास ऐन २०७७ को दफा २९ को (२) लाई आधार बनाएर निलम्बन निर्णय गरेको थियो।
१ जेठ, काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ। एन्फा महासचिवसहितका पदाधिकारीहरूले शुक्रबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई भेटेर छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति गरेका हुन्। एन्फाका प्रवक्ता सुरेश शाहले निलम्बन फुकुवा भएको पुष्टि गरे। ‘बिना शर्त निलम्बन फुकुवा भएको छ। फिफालाई यसबारे जानकारी गराइसकेपछि विस्तृत जानकारी दिनेछौं। निलम्बन फुकुवापछि महिला टोली साफ महिला च्याम्पियनसिपमा सहभागी हुने सम्भावना बढेको छ,’ शाहले भने। यसभन्दा अघि राखेपले पटकपटक निर्देशन पालना नगरेको भन्दै गत ११ चैतमा खेलकुद विकास ऐन २०७७ को दफा २९ को (२) लाई आधार मानेर एन्फा नेतृत्वमाथि निलम्बन गर्ने निर्णय गरेको थियो।






