नेपालले ६ पटक इन्धन मूल्य वृद्धि गर्दा भारतमा पहिलोपटक मूल्य वृद्धिको सूचना

समाचार संक्षेप
इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि भारतमा चार वर्षपछि पहिलो पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको छ। नेपालले अहिलेसम्म आधा दर्जन पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर पेट्रोल प्रति लिटर २ सय १७ रुपैयाँ कायम गरेको छ। भारत सरकारले इन्धन खपत कम गर्न मितव्ययिता योजना अघि सारेको छ र प्रधानमन्त्री मोदीले अनावश्यक यात्रा रोक्न आग्रह गरेका छन्।
१ जेठ, काठमाडौं । इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि सुरु भएको युद्धलाई कारण मान्दै भारतमा पहिलोपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि भएको घाटा पूर्ति गर्न भारतमा चार वर्षपछि पहिलो पटक यो मूल्यवृद्धि गरिएको छ भने भारतका डिलरहरूलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ। तर, इन्धनमा भारतमै निर्भर नेपालले भने यस अवधिमा कम्तीमा पनि आधा दर्जन पटक मूल्य बढी गरिसकेको छ। हाल नेपालमा पेट्रोलको मूल्य प्रति लिटर २ सय १७ रुपैयाँ, डिजेल र मट्टीतेल लिटरको २ सय २५ र ग्यास प्रतिसिलिन्डर २ हजार १६० रुपैयाँ कायम छ।
यसअघि २ वैशाखमा नेपाल आयल निगमले पेट्रोलको मूल्य लिटरको २ सय १९, डिजेल र मट्टीतेल २ सय ३७ र ग्यास प्रतिसिलिन्डर २ हजार १० रुपैयाँ तय गरेको थियो। भारतका सरकारी तेल कम्पनीहरूले पेट्रोल र डिजेलको खुद्रा मूल्यमा प्रतिलिटर ३ भारु (करीब ३ प्रतिशत) ले वृद्धि गरेका छन्। विश्वको तेस्रो ठूलो तेल आयातकर्ता र उपभोक्ता मुलुक भारत इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि सुरु भएको युद्धका कारण इन्धन मूल्य बढाउने अन्तिम प्रमुख अर्थतन्त्र बनेको छ।






