Skip to main content

बेल्जियमले लुकाकुलाई समेट्दै फिफा विश्वकप २०२६ का लागि टोली घोषणा गर्यो

बेल्जियमले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ। चोटसँग जुझिरहेको रोमेलु लुकाकु पनि यस टोलीमा छन्। थिबाउट कोर्तवा, केभिन डे ब्रुएना र एक्सल विट्सलले चौथो पटक विश्वकप खेल्ने अवसर पाएका छन्।

२ जेठ, काठमाडौं। बेल्जियमले रोमेलु लुकाकुलाई समेट्दै फिफा विश्वकप २०२६ का लागि अन्तिम टोली घोषणा गरेको छ। रेड डेभिल्सका रूपमा परिचित बेल्जियमले शुक्रबार २६ सदस्यीय टोली सार्वजनिक गरेको हो। मुख्य प्रशिक्षक रुडी गार्सियाले लुकाकुलाई ‘आउट अफ सेप’ भने पनि टोलीमा समेटिएका छन्। चोटका कारण जोखिममा रहेका लुकाकुले गत सिजनमा कुल ६९ मिनेट मात्र मैदानमा बिताएका थिए।

लुकाकु बाहेक थिबाउट कोर्तवा, केभिन डे ब्रुएना र एक्सल विट्सल पनि चौथो पटक विश्वकप खेल्ने क्षमतावान खेलाडीको रूपमा रहेका छन्। बेल्जियमको टोलीमा गोलकिपरका रूपमा थिबाउट कोर्तवा, सेने लामेन्स र माइक पेन्डर्स छनोट भएका छन्। डिफेन्डरको रूपमा टिमोथी कास्टाग्ने, जेनो डेबास्ट, म्याक्सिम डे क्युपर, कोनी डे विन्टर, ब्रान्डोन मेचेले, थोमस मुनिएर, नाथान एगोए, ज्याक्विन सेयस र आर्थर थिएट छन्। मिडफिल्डरमा केभिन डे ब्रुएना, अमाडोउ ओनाना, निकोलस रास्किन, युरि थिलेमन्स, हान्स भानाकेन र एक्सल विट्सल रहेका छन्। फरवार्डमा चार्लस डे केटेलाएरे, जेरेमी डोकु, मातिएस पर्नान्डेज, रोमेलु लुकाकु, डोडी लुकबाकियो, डिएगो मोरेइरा, एलेक्सिस साएलेमाएकर्स र लिएन्ड्रो ट्रोसार्ड रहेका छन्।