Skip to main content

समूह ‘डी’ मा शक्ति सन्तुलनको परीक्षण

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ मा अमेरिका, पाराग्वे, अस्ट्रेलिया र टर्की रहेका छन्। अमेरिकाले घरेलु मैदान र युवा प्रतिभाका साथ समूह चरण पार गर्ने लक्ष्य राखेको छ। टर्कीले २००२ पछि पहिलोपटक विश्वकप खेल्दै समूहमा अप्रत्याशित चुनौती प्रस्तुत गर्न सक्छ। २ जेठ, काठमाडौं ।

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ लाई विश्वकपको सबैभन्दा सन्तुलित र अप्रत्याशित नतिजा आउने समूहका रूपमा हेरिएको छ। उत्तर अमेरिका, दक्षिण अमेरिका, ओसिनिया र युरोपका चार फरक खेल शैलीका टोली एउटै समूहमा भेला हुँदा प्रतिस्पर्धा अझ रोचक बन्ने देखिन्छ। घरेलु समर्थकको साथ पाएको अमेरिका, अनुशासित खेल खेल्ने पाराग्वे, शारीरिक रूपमा बलियो अस्ट्रेलिया र रणनीतिमा परिपक्व टर्कीबीचको भिडन्तले समूहलाई पूर्ण रूपले खुला बनाएको छ।

अमेरिका आयोजक राष्ट्रमध्ये एक भएकाले स्वतः विश्वकपमा स्थान बनाएको हो। घरेलु मैदान र ठूलो समर्थक आधार यसको प्रमुख शक्ति हुन्। पछिल्ला वर्षमा युवा प्रतिभा विकास र युरोपेली लिगमा खेलिरहेका खेलाडीहरूको उपस्थिति टोलीलाई सशक्त बनाएको छ। आक्रामक र तीव्र खेल शैली यसको विशेषता हो। पहिलो विश्वकप संस्करणमै तेस्रो स्थान हासिल गरेको अमेरिकाले त्यसयता त्यो स्तरमा पुग्न सकेको थिएन। यसपटक पनि अमेरिकाको लक्ष्य समूह चरण पार गरेर अगाडि बढ्नु हो।

पाराग्वेले दक्षिण अमेरिकी छनोटमा कठिन प्रतिस्पर्धा पार गर्दै विश्वकप स्थान सुरक्षित गरेको हो। १६ वर्षपछि पुनः फिफा विश्वकपमा प्रवेश गर्न लागेको पाराग्वे अनुशासित र रक्षात्मक रूपमै बलियो खेल प्रदर्शन गर्दै आएको छ। टोलीमा अनुभवी खेलाडीहरूको सहभागिता भए पनि आक्रमणमा अझ स्थिरता खोजिरहेको देखिन्छ। यद्यपि कठिन समूहमा अंक संकलन गर्न सक्षम छ।

अस्ट्रेलियाले ओसिनिया/एसियाली क्षेत्रको छनोट पार गर्दै लगातार विश्वकप यात्रा कायम राखेको छ। शारीरिक रूपमा बलियो र निरन्तर दबाब राख्ने खेल यसको मुख्य विशेषता हुन्। ठूलो प्रतियोगिताको अनुभवले टोलीलाई आत्मविश्वास प्रदान गरेको छ। समूहमा अपसेट सृजना गर्ने क्षमता अस्ट्रेलियामा सधैं देखिएको छ।

टर्कीले युरोपेली छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा स्थान सुरक्षित गरेको छ। सन् १९५४ मा पहिलोपटक विश्वकप खेलेको टर्की सिधै सन् २००२ मा विश्वकप खेल्न पुगेको थियो। २००२ को विश्वकपमा तेस्रो भई टर्कीले त्यसपछिको पहिलो उपस्थिति तय गरेको हो। समग्रमा टर्कीको यो तेस्रो विश्वकप किनभने ‘अन्डरडग’ टिमको रूपमा रहन्छ। आक्रामक सोच, युवा ऊर्जा र भावनात्मक खेल यसको विशेषता हुन्।