Skip to main content

प्रस्तावित प्रधानन्यायाधीशविरुद्धको उजुरी मंगलबार खोल्ने तयारी

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्धको उजुरी आगामी मंगलबार संसदीय सुनुवाइ समितिले खोल्ने तयारी गरेको छ। शनिबार साँझसम्म ७ वटा उजुरी परेका छन् र सोमबार कार्यालय समयसम्म उजुरी दिन सकिने संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए। उजुरी दिन हुलाक, इमेल, सचिवालयमा पत्रमार्फत र ७७ जिल्ला प्रशासन कार्यालयबाट गर्न सकिनेछ र उजुरीको विषयवस्तु स्पष्ट खुलाउन आग्रह गरिएको छ।

गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो। समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार मंगलबार समितिको बैठक राखेर उजुरी खोल्ने तयारी छ। त्यसपछि अध्ययनका लागि सबै सदस्यहरूलाई वितरण गरिनेछ। समिति सचिवालयका अनुसार उजुरी दिन हुलाकदेखि इमेलसम्ममा सबै माध्यम प्रयोग गर्न सकिनेछ। सिधै सचिवालयमा पुगेर पत्रमार्फत पनि उजुरी दिन सकिन्छ। सुनुवाइ समितिका सदस्यहरूलाई प्रत्यक्ष भेटेर खामभित्र राखेर उजुरी दिन सकिन्छ। ७७ वटा जिल्ला प्रशासन कार्यालयबाट पनि उजुरी गर्न सकिन्छ। इमेलबाट पनि उजुरी दिन सकिन्छ। उजुरी दिँदा विषयवस्तुको आधार र कारण स्पष्ट खुलाउन आग्रह गरिएको छ। संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिश भएका शर्मालाई संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्नेछन्।