Skip to main content

स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौँ स्थानमा उक्लियो

नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराउँदै आईसीसी क्रिकेट विश्वकप लिग २ को पाँचौँ स्थानमा उक्लिएको छ। कप्तान रोहित पौडेलले ७४ रन नटआउट बनाएर नेपाललाई १९५ रनको लक्ष्य पूरा गर्न मद्दत गरे। अब नेपालले अमेरिकासँग सिरिजको अन्तिम खेल शुक्रबार खेल्नेछ। ४ जेठ, काठमाडौं।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। जारी श्रृंखलामा दोस्रो जित हात पार्दै नेपाल लिग २ को अंक तालिकामा पाँचौँ स्थानमा उक्लिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ ओभर १ बलमा ४ विकेट गुमाएर १९९ रन बनाएर पूरा गरेको हो।

नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाएर नटआउट रहे। उनले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे। रोहितले इशान पाण्डेसँग तेस्रो विकेटका लागि शतकीय साझेदारी पनि गरे। इशान ६१ बलमा ५५ रन बनाएर आउट भए। उनले ५ चौका र २ छक्का प्रहार गरे। ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ५८ रनको राम्रो साझेदारी गरे। कुशल २८ तथा आसिफ २९ रनमा आउट भए।

स्कटल्यान्डले टस जितेर ब्याटिंग थालेको थियो र ३९ ओभर १ बलमा १९४ रनमा अलआउट भयो। स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ७३ रन बनाए। नेपालका स्पिनर ललित राजवंशीले ८ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए। सन्दीप लामिछानेले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए। नेपालले २७ खेल खेलेको छ र २२ अंक जोडेको छ। अब नेपालले सिरिजको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्नेछ।