Skip to main content

किम्चीमा पाइने प्रोबायोटिक ब्याक्टेरिया शरीरबाट माइक्रोप्लास्टिक निकाल्न सहयोगी हुने अध्ययन

दक्षिण कोरियाका वैज्ञानिकहरूले किम्चीमा रहेको प्रोबायोटिक ब्याक्टेरियाले शरीरभित्र रहेका नानोप्लास्टिक कणलाई दिसाबाट बाहिर निकाल्न मद्दत गर्ने पत्ता लगाएका छन्। ‘वर्ल्ड इन्स्टिच्युट अफ किम्ची’ का अनुसन्धानकर्ताहरूले किम्चीमा पाइने ल्याक्टिक एसिड ब्याक्टेरिया ‘ल्यूकोनोस्टोक मेसेन्टेरोइड्स सीबीए३६५६’ले आन्द्राभित्र प्लास्टिकका कणहरूलाई आकर्षित गर्ने देखाएका छन्। प्रयोगशालामा गरिएको परीक्षणमा, उक्त ब्याक्टेरियाले ५७ प्रतिशत प्लास्टिक कण टाँस्न सफल भएको र मुसामा प्रयोग गर्दा दिसाबाट नानोप्लास्टिक कणहरू दोब्बर मात्रामा बाहिर निस्किएको प्रमाणित भएको छ।

दक्षिण कोरियाका वैज्ञानिकहरूले गरिएको नयाँ अध्ययनले परम्परागत फर्मेन्टेड परिकार ‘किम्ची’मा पाइने प्रोबायोटिक ब्याक्टेरियाले शरीरभित्र रहेका हानिकारक नानोप्लास्टिक कणलाई शरीरबाट बाहिर निकाल्न सहयोग गर्ने देखाएको छ। ‘वर्ल्ड इन्स्टिच्युट अफ किम्ची’का अनुसन्धानकर्ताहरू भन्छन् कि यो ब्याक्टेरियाले आन्द्राभित्र रहेका प्लास्टिक कणलाई बलियो रूपमा आकर्षित गरी दिसाको माध्यमबाट शरीरबाहिर निकाल्न दोहोरो प्रभावकारी भूमिका खेल्दछ।

नानोप्लास्टिक भनेको १ माइक्रोमिटरभन्दा साना प्लास्टिकका कणहरू हुन्, जुन प्लास्टिकजन्य फोहोर विस्तारै भंग हुँदा बन्ने गर्छन्। यी सूक्ष्म कणहरू खाना र पिउने पानीमार्फत मानिसको शरीरमा प्रवेश गर्छन्। आकारमा धेरै साना भएका कारण यी कणहरूले आन्द्राको सुरक्षा पर्खाल पार गरी मिर्गौला र मस्तिष्कजस्ता संवेदनशील अंगहरूमा जम्न सक्छन्। यसकारण चिकित्सकहरूले यस विषयलाई जनस्वास्थ्यका लागि ठूलो चुनौती ठान्ने गरेका छन्।

‘बायोरिसोर्स टेक्नोलोजी’ जर्नलमा प्रकाशित प्रतिवेदनअनुसार, डा. से ही ली र डा. ताए वुङ ह्वनको नेतृत्वमा रहेको टोलीले किम्चीबाट निकालिएको ‘ल्यूकोनोस्टोक मेसेन्टेरोइड्स सीबीए३६५६’ नामक ल्याक्टिक एसिड ब्याक्टेरियाको भूमिकामा परीक्षण गरेका थिए। वैज्ञानिकहरूले प्रयोगशालामा मानव आन्द्रा जस्तो कृत्रिम वातावरण सिर्जना गरी परीक्षण गरेका थिए। सामान्य अवस्थामा, उक्त ब्याक्टेरियाले ८७ प्रतिशत प्लास्टिक कण टाँस्न सफल भएको थियो। तर मानव आन्द्राको जटिल वातावरण सिर्जना गर्दा सामान्य ब्याक्टेरियाको प्लास्टिक टाँस्ने क्षमता ३ प्रतिशतमा सीमित हुँदा, किम्चीको यो विशेष ब्याक्टेरियाले ५७ प्रतिशत प्लास्टिक कण पक्रन सफल रह्यो।

यसले देखाउँछ कि उक्त ब्याक्टेरिया मानव पाचन प्रणालीभित्र पनि प्रभावकारी रूपमा सक्रिय रहन सक्छ। प्रयोगशालाको परीक्षणपछि वैज्ञानिकहरूले जीवाणु नभएका मुसामा यसको प्रयोग गरेका थिए। परीक्षणका क्रममा किम्चीको उक्त प्रोबायोटिक ब्याक्टेरियाले दिइएका मुसाहरूको दिसामा सामान्य मुसाहरूको तुलनामा दोब्बरभन्दा बढी नानोप्लास्टिक कणहरू बाहिर निस्किएको पाइएको छ। अनुसन्धानका मुख्य लेखक डा. सेही लीका अनुसार, प्लास्टिक प्रदूषण अहिले वातावरणीय समस्या मात्र नभएर जनस्वास्थ्यको गम्भीर चिन्ताको विषय पनि बन्न पुगेको छ। परम्परागत फर्मेन्टेड खानामा पाइने यस्ता सूक्ष्मजीवहरू भविष्यमा शरीरभित्र पस्ने वातावरणीय प्रदूषक र प्लास्टिक कणहरू विरुद्ध लड्ने नयाँ जैविक हतियार बन्न सक्ने वैज्ञानिकहरू विश्वास गरिरहेका छन्।