
नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आईसीसी ओडीआई बलिङ वरियतामा ३६औं स्थान हासिल गरेका छन्। उनले लिग २ शृंखलामा ओमान र यूएई, साथै अमेरिका र स्कटल्यान्डसँग ७ खेलमा १६ विकेट लिएका छन्। सन्दीपले ओडीआईमा १५० विकेट सबैभन्दा कम खेलमा पूरा गर्ने कीर्तिमान पनि राखेका छन्।
६ जेठ, काठमाडौं। आईसीसीले मंगलबारसम्मको अपडेटलाई समेटेर बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा सन्दीपले ४२औं स्थानबाट ३६औं स्थानमा उक्लिएका हुन्। उनको रेटिङ अंक ५०९ पुगेको छ। घरेलु मैदानमा सुरु भएको लिग २ शृंखलामा उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
ओमान र यूएईसँगको शृंखलाका ४ खेलमा उनले ८ विकेट लिएका थिए र किफायती बलिङ पनि गरेका छन्। हाल जारी अमेरिका र स्कटल्यान्डसँगको ३ खेलमा उनले ८ विकेट लिइसकेको छ। स्कटल्यान्डसँगको पहिलो खेलमा ४ विकेट लिएका सन्दीपले अमेरिकासँग १ र पुनः स्कटल्यान्डसँग ३ विकेट लिए। यसै क्रममा उनले ओडीआईमा १५० विकेट पुरा गर्दै सबैभन्दा कम खेलमा त्यो उपलब्धि हासिल गर्ने कीर्तिमान कायम गरेका छन्।
बलिङ वरियतामा ललित राजवंशी १६ स्थान सुधार गर्दै ५४औं स्थानमा पुगेका छन् भने करण केसी ८ स्थान तल झरेर ९८औं स्थानमा छन्।

