Skip to main content

वीरेन्द्रनगरकी मेयरले पीडित महिलालाई १० हजार रुपैयाँ क्षतिपूर्ति दिनुभयो

६ जेठ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा नगर प्रहरीले एक काफल बेच्ने महिलामाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। मंगलबार साँझ सामाजिक सञ्जालमा निकै भाइरल भएको उक्त भिडियो वीरेन्द्रनगरस्थित सिटी बसपार्क नजिकै खिचिएको हो। डोकोमा काफल बोकेर बिक्री गरिरहेका ती महिलाको डोको नगर प्रहरीले छिनी सडकमै पोखिदिएको थियो र त्यसपछि ती प्रहरी भ्यानमा चढेर जान्छन्। उक्त महिला पोखिएको काफल डोला उठाएर सडकमै बसिन्। अहिले त्यो भिडियो लाखौं पटक हेरिएको छ र मानिसहरूले विभिन्न प्रतिक्रिया जनाइरहेका छन्। नगर प्रहरीको उक्त दुर्व्यवहारप्रति व्यापक आलोचना भइरहेको छ।

दुर्व्यवहार भोग्ने ती महिला कालिकोटकी हुन् र हाल वीरेन्द्रनगर नगरपालिका–३ मा बसोबास गर्दै आएकी धमिला चौलागाईं हुन्। उक्त घटनापछि वीरेन्द्रनगर नगरपालिकाले धमिलालाई बोलाएर १० हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गरेको छ। मेयर मोहनमाया ढकालले बुधबार दिउँसो उनलाई आफ्नो कार्यालयमा बोलाएर उक्त रकम हस्तान्तरण गर्नुभएको हो। ‘धमिला चौलागाईंमाथि नगर प्रहरीले दुर्व्यवहार गरेको कुरा मैले पनि भिडियोबाटै थाहा पाएँ,’ मेयर ढकालले बताउनुभयो, ‘अहिले उनीलाई बोलाएर राहत र प्रोत्साहन उपलब्ध गराएका छौँ।’

दुर्व्यवहार गर्ने नगर प्रहरीको तत्काल विभागीय कारबाही गरिने मेयर ढकालले जानकारी गराउनुभयो। नगरपालिकाले दुर्घटनाको जोखिम घटाउन फुटपाथ व्यवस्थापनको काम गरिरहेको जानकारी पनि उहाँले दिनुभयो। ‘हामीले फुटपाथ व्यवसायीहरूका लागि निश्चित र सुरक्षित ठाउँ छुट्याएका छौँ,’ मेयर ढकालले बताउनुभयो। नगर प्रमुखले धमिलालाई सुरक्षित ठाउँमा बसेर व्यापार गर्न आग्रह गर्दै आगामी दिनमा कुनै समस्या आएमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। क्षतिपूर्ति पाएकोमा धमिला खुशी भई फर्किएकी छिन् भनेर मेयर ढकालले दाबी गर्नुभयो।