
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ मा बेल्जियम, इजिप्ट, इरान र न्युजिल्यान्ड रहेका छन्। यो समूह अनुभव, रणनीति र मानसिक दृढताको परीक्षा मानिएको छ। बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले आक्रामक खेल शैली अपनाउँदै उपाधि जित्ने प्रयास गरिरहेका छन्।
समूहको स्पष्ट फेभोरिट बेल्जियम भए तापनि मोहम्मद सालाहको नेतृत्वमा रहेको इजिप्ट, सधैं अनुशासित र कठिन प्रतिद्वन्द्वी मानिने इरान तथा लामो अन्तरालपछि विश्वकपमा फर्किएको न्युजिल्यान्डले समूहलाई खुला बनाएका छन्। शीर्ष स्थानका लागि बेल्जियम अग्रस्थानमा देखिए पनि दोस्रो स्थानको प्रतिस्पर्धा अन्तिम खेलसम्म जारी रहने अनुमान गरिएको छ।
इजिप्ट आफ्नो इतिहासमा चौथो पटक र २०१८ पछि पहिलो पटक विश्वकपमा फर्किएको हो। प्रशिक्षक होसाम हसनका लागि यो विशेष यात्रा हो। छनोटमा १० खेल अपराजित रहँदै मात्र दुई गोल खेलेको इजिप्टले आफ्नो शक्ति देखायो। इरान लगातार चौथो विश्वकप खेल्दैछ र एसियाका सबैभन्दा स्थिर टोलीमध्ये एक मानिन्छ।
न्युजिल्यान्ड सन् २०१० पछि पहिलो पटक विश्वकपमा फर्किएको हो। ओसिनियामा छनोटमा पूर्ण दबदबा देखाउँदै न्युजिल्यान्डले सबै पाँच खेल जित्यो र केवल एक गोल बेहोरेको थियो। यसपटक पनि न्युजिल्यान्डको रणनीति रक्षात्मक ब्लक र सिधा आक्रमणमा आधारित हुनेछ।

