
पाँच हजार फाइबर-अप्टिक सेन्सरहरूले सुसज्जित एक अत्यन्त शक्तिशाली उपकरणले ब्रह्माण्डको विशाल नक्सा प्रस्तुत गरेको छ। यो सबैभन्दा ठूलो नक्साले हाम्रो ब्रह्माण्ड सम्बन्धी वर्तमान धारणालाई चुनौती दिइरहेको छ। संयुक्त राज्य अमेरिकाको एरिजोनामा अवस्थित किट पीक राष्ट्रिय वेधशालामा राखिएको ‘डार्क एनर्जी स्पेक्ट्रोस्कोपिक इन्स्ट्रुमेन्ट’ (डेसी) नामक उपकरणले ४.७ करोडभन्दा बढी तारापुञ्ज र क्वेजारहरू तथा २ करोडभन्दा बढी ताराहरूको चित्र खिचेको छ। यो संख्या विगतमा गणना गरिएका तारापुञ्ज र अन्य ब्रह्माण्डीय वस्तुहरूको कुल संख्याभन्दा छ गुणा बढी हो। ती तस्बिरहरू लगभग ११ अर्ब प्रकाशवर्ष दूरका हुन्। अर्थात्, डेसीले ब्रह्माण्डको उत्पत्तिको प्रारम्भिक चरणमा रहेका तारापुञ्जहरूकै तस्बिर खिचेको छ। कोलम्बियास्थित ईसीसीआई विश्वविद्यालयमा खगोलशास्त्रशास्त्री लुस आन्हेला गार्सिआका अनुसार त्यो समय करिब १३.७ अर्ब वर्षअघिको हो।
यो नक्साले तारापुञ्जहरूको संरचना र तिनीहरू कसरी बनेका छन् भन्ने विषय अझ स्पष्ट रूपमा बुझ्न सहयोग पुर्याउँछ भने अहिलेसम्म विज्ञानमा ठूलो रहस्य मानिएको ‘डार्क एनर्जी’ सम्बन्धमा नयाँ संकेतहरू प्रदान गर्दछ। डेसीले पाँच वर्षमा आकाशको एक तिहाइ भागको नक्साङ्कन गरेको छ। यस क्रममा विशेषत: उक्त उपकरणले एकै रातमा एक लाखभन्दा बढी तारापुञ्ज नापेका थिए। ती तारापुञ्जहरूबाट बिँझिएको प्रकाश फाइबर-अप्टिक डिटेक्टरहरू मार्फत उपकरणमा प्रवेश गर्दा तिनीहरूको ‘स्पेक्ट्रम’ अर्थात् वर्णक्रम नाप्न सकिन्छ र यसबाट ब्रह्माण्ड कति फैलिएको छ भन्ने गणना गर्न सम्भव हुन्छ। तर डेसीको अर्को ठूलो सफलता भनेको यसले ‘डार्क एनर्जी’ बुझ्न नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ। ब्रह्माण्डको ७० प्रतिशत तत्व ‘डार्क एनर्जी’मा आधारित भएको मानिन्छ र यसले ब्रह्माण्डलाई फैलिन उत्प्रेरणा दिने शक्ति जस्तै काम गर्छ।
अहिलेसम्म डार्क एनर्जीलाई ‘कोस्मोलोजिकल कन्स्टन्ट’ अर्थात् ‘ब्रह्माण्डीय स्थिराङ्क’ मानिएको छ। अल्बर्ट आइन्स्टाइनले आफ्नो सापेक्षता सिद्धान्तको सामान्य समीकरणमा पनि यो स्थिराङ्क समावेश गरेका थिए। क्लेअर क्यामरनले ‘साइन्टिफिक अमेरिकन’ म्यागजिनमा प्रकाशित एक लेखमा यसले ब्रह्माण्ड स्थिर रूपमा विस्तार भइरहेको छ भनी मान्ने अवधारणा व्याख्या गर्ने बताएकी छन्। यो नयाँ खोजले विकास हुँदै गरेको ऊर्जा डार्क एनर्जी स्थिर हुँदैन, बरु समयक्रमसँग विकसित हुन्छ भन्ने मान्यतालाई थप बलियो बनाएको छ।

