
४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिता १४ देखि १७ जेठसम्म आयोजना हुन लागेको छ। यो प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोलीसहित जम्मा ११६ खेलाडीहरूले सहभागिता जनाउनेछन्। प्रतियोगितामा पुरुष, महिला, जुनियर र क्याडेट खेलाडीहरू ११ विधामा लिग कम नकआउट र नकआउट प्रणाली अन्तर्गत प्रतिस्पर्धा गर्नेछन्। ७ जेठ, काठमाडौं।
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिता १४ देखि १७ जेठसम्म आयोजना हुन लागेको जानकारी आयोजकहरूले बुधबार पत्रकार सम्मेलनमार्फत दिएका छन्। यस प्रतियोगितामा सातै प्रदेशबाट १०-१० जना गरी ७० खेलाडी, तीन विभागीय टोलीबाट १०-१० जना गरी ३० खेलाडी, साथै शीर्ष ८ पुरुष र महिला खेलाडी गरी कुल १६ खेलाडी सिधा छनोट भएका छन्।
प्रतियोगितामा पुरुष र महिला टिम ईभेन्ट, पुरुष तथा महिला सिंगल्स, मेन्स डबल्स, लेडिज डबल्स, मिक्स डबल्स, जुनियर ब्वाइज तथा गर्ल्स (अण्डर–१९) र क्याडेट ब्वाइज तथा गर्ल्स (अण्डर–१५) गरी ११ विधामा प्रतिस्पर्धा हुने छ। चार ईभेन्टहरू लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछन् भने बाँकी सबै नकआउट आधारमा संचालन गरिने आयोजकहरूले बताएका छन्। संघका पदाधिकारीहरूले जुनियर र क्याडेट विधाहरू समावेश गर्नुको मुख्य उद्देश्य सिनियर खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै जुनियर खेलाडीहरूले अनुभव सँगाल्न पाउने वातावरण सिर्जना गर्नु रहेको बताएका छन्।
प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट वार्षिक सहयोग स्वरूप ८ लाख रुपैयाँ प्राप्त भएको छ भने बाँकी रकम टेबलटेनिस संघले व्यवस्थापन गर्नेछ। प्रतियोगिताको कुल अनुमानित बजेट ३५ लाख रुपैयाँ रहेको छ।

