Skip to main content

धनगढीका मेयर नपुग्दै वडा सदस्यको परिवार कुटिए, प्रहरीले पूर्वजानकारी दिएन

समाचार सारांश अनुसार, बाजुराको लाम्पाटा क्षेत्रमा सीमा विवादका कारण धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोलीलाई स्थानीयले ढुंगामुढा गरी रोक्न पुगेको थियो। हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गारा गुरुङ र उनको परिवारलाई प्रहरी चौकी निर्माणका कारण मरणासन्न हुने गरी कुटपिट गरिएको छ। धनगढी टोलीलाई साइपाल रानीसैन बेसक्याम्प जान सुरक्षा निकायले पूर्व जानकारी नदिँदा टोली आक्रमणमा परेको र पछि संयमता अपनाएर फर्किएको छ। ७ जेठ, धनगढी।

बाजुरामा सीमा विवादलाई लिएर आक्रोशित समूहले ढुंगामुढा गरेपछि पर्यटन प्रवर्द्धनका लागि साइपालको रानीसैन बेसक्याम्प हिँडेको टोली फर्किएको छ। ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ अभियानअन्तर्गत धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोली साइपाल हिमालको रानीसैन बेसक्याम्प तर्फ जाँदै थियो। तर, बाजुरा–हुम्ला सीमा विवादका कारण हिमाली गाउँपालिका–३ को लाम्पाटामा एक समूहले मेयर हमाल नेतृत्वको टोलीलाई अघि बढ्न रोक लगायो। ढुंगामुढा गर्दै उनीहरूले आक्रमण गरेपछि पर्यटन प्रवर्द्धनका लागि पुगेका जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवालाले भागेर ज्यान जोगाए।

झण्डै तीन सयको संख्यामा रहेका हुम्लाको खार्पुुनाथ गाउँपालिका–२ थालीका स्थानीयले ढुंगामुढा गरेपछि भ्रमणमा रहेको टोली भागिरहेको दृश्य सामाजिक सञ्जालका सार्वजनिक भिडियोहरूमा देख्न सकिन्छ। थालीका बासिन्दाहरू लाम्पाटा क्षेत्रमा आफ्नो दाबी गर्दै आएका थिए र त्यही कारण त्यहाँ विवाद उत्पन्न भएको थियो। सुदूरपश्चिम प्रदेश सरकारले प्रहरी चौकी निर्माणका लागि ४० लाख बजेट विनियोजन गरेपछि स्थिति थप जटिल बनेको थियो। खार्पुनाथका बासिन्दाहरू कुनै पनि हालतमा प्रहरी चौकी निर्माण नगर्न कडा अडानमा थिए। धनगढीबाट टोली आउँदैछ भन्ने थाहा पाएपछि स्थानीयबासिन्दा त्यहाँ जम्मा भएका थिए।

वडा सदस्यको परिवारमाथि मरणासन्न हुने गरी कुटपिट हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गारा गुरुङले लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माणका लागि जग्गा दान गरेका थिए। त्यसपछि उनी हुम्लाको खार्पुनाथको थाली गाउँका नजरमा पर्यो। लाम्पाटा क्षेत्र आफ्नो दाबी गर्दै आएका थालीपासीले योजनामा रहेको गुरुङको परिवारमाथि आक्रमण गरेको स्थानीयले बताएका छन्। २ जेठदेखि नै दुई जिल्लाको सीमामा पर्ने लाम्पाटास्थित वडा सदस्यको घरमा उनीहरू जम्मा भएका थिए। प्रहरी चौकी निर्माणका लागि जग्गा दिएको कारण ३ जेठमा गुरुङको घरमा आक्रमण गरिएको थियो। गुरुङ र उनकी श्रीमती लक्ष्मी गुरुङलाई घरमै कुटपिट गरिएको थियो।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले वडा सदस्यको परिवारमाथि कुटपिट गर्दै घर कब्जा गरी लुटपाट समेत गरेको पाइएको बताएका छन्। त्यसै क्रममा हिमालीका प्रमुख प्रशासनिक अधिकृत कुलबहादुर थापामाथि पनि आक्रमण भएको बताइएको छ। तर, सञ्चार सम्पर्क नभएको कारण त्यहाँको वस्तुस्थिति बारे यथेष्ट सूचना प्राप्त गर्न सकिएको थिएन। धनगढीका मेयर हमालसहितको टोलीलाई साइपाल लैजान सहजीकरण गर्ने अध्यक्ष मल्लले प्रहरी प्रशासनले पर्याप्त सूचना नदिएपछि दोस्रो आक्रमणको स्थिति बनेको जानकारी दिए।

‘त्यहाँ पहिले नै वडा सदस्यको परिवारलाई कुटपिट गरेर खार्पुनाथका स्थानीयले नियन्त्रणमा लिइसकेका थिए। जिल्लाका प्रहरी प्रमुखलाई सोध्दा घटना सामान्य भएको र साम्य भइसकेको भन्ने जवाफ आयो,’ अध्यक्ष मल्लले भने, ‘त्यसपछि धनगढीको टोली अघि बढ्यो। तर त्यहाँ पुगेपछि अवस्था फरक देखियो। बल्लतल्ल ज्यान जोगाएर फर्कियौं।’ उनका अनुसार लाम्पाटा पुगेपछि मात्रै वडा सदस्यको परिवारमाथि मरणासन्न हुने गरी कुटपिट भएको थाहा भएको थियो। धनगढी टोली पुगेपछि मात्र उनीहरु आक्रोशित समूहको नियन्त्रणबाट मुक्त भएका थिए।

ड्रोन उडाएको विषयले आक्रमण भएको हो? बाजुरा जिल्ला प्रहरी कार्यालयले दिएको विवरणमा धनगढी उपमहानगरपालिकाको टोलीले लाम्पाटामा ड्रोन उडाएर भिडियो खिच्ने क्रममा विवाद भएपछि आक्रमण भएको उल्लेख छ। तर धनगढीको पर्यटन प्रवर्द्धन टोली नपुग्दै वडा सदस्य लगायतलाई कुटपिट गरिएका थिए। डिसन ड्रोन उडाएको विषय नभै विगतदेखिको सीमा विवाद र योजनाअनुसारै आक्रमण भएको पालिका अध्यक्ष मल्लले जनाए।

हिमाली गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी रानीसैन बहस कार्यक्रम आयोजना गर्न साइपालको रानीसैन जाँदै थिए। साथमा जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकाया पनि थिए। पहिले हिमाली गाउँपालिका टोली र पछि धनगढीबाट गएको टोली थियो। धनगढीबाट गएको टोली घटनास्थलसम्म पुग्न सकेन, तर खार्पुनाथबाट आएको स्थानीय समूहले हिमाली गाउँपालिका टोलीलाई आक्रमण गर्दै उनीहरू भएको ठाउँसम्म धकेल्यो।

प्रहरीले पूर्वजानकारी दिएको थिएन। धनगढीका मेयर गोपाल हमालले लाम्पाटामा स्थानीयबीच सीमा विवाद रहेको र कुटपिट घटनाबारे पूर्व जानकारी नपाएको बताएका छन्। लाम्पाटाको फेदतिर पुग्दा मात्र वडा सदस्यसहित मरणासन्न हुने गरी कुटपिट भएको थाहा पाएको र त्यसपछि माथि नजाने उनले जानकारी दिए। तर, हिमाली गाउँपालिका अध्यक्षसहितको टोलीलाई लखेट्दै आफूहरूले भएको स्थानसम्म पुगेको उनले बताए।

‘त्यहाँ स्थानीयबीच द्वन्द्व रहेको थाहा पाएका भए हामी जाँदैनथ्यौं। त्यो कुरा थाहा पाएनौं,’ हमालले भने, ‘वडा सदस्यमाथि कुटपिट भएको थाहा पाएपछि हामी डाँडा चढेनौं। हिमाली अध्यक्षमाथि आक्रमण हुन थालेपछि उहाँ दौडँदै तल आए। आक्रोशित समूहले काठे पुल पनि भत्काइदिए। त्यसपछि हामी फिर्ता भयौं।’ तर ड्रोन उडाएको कारण नभएको उनले जोड दिए।

‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ अभियानअन्तर्गत धनगढीका मेयरसहितको टोली ३१ वैशाखमा साइपाल बेसक्याम्प रानीसैनतर्फ हिँडेको थियो। भ्रमण तालिकाबारे २९ वैशाखमै बाजुराका प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिइएको थियो। तर सुरक्षा निकायले रानीसैन जानेलाई लाम्पाटामा भएका घटनाबारे पूर्व जानकारी नदिएपछि टोली आक्रमण र दुर्व्यवहारमा परेको देखिएको छ। धनगढी र बाजुराको हिमाली गाउँपालिकाको भ्रमण टोली संयमता अपनाएर फर्किँदा दोहोरो घटना नभएको थियो। हिमाली गाउँपालिका गुम्बा पुगेपछि मेयर हमालले प्रमुख जिल्ला अधिकारी र गृह सचिवसँग सम्पर्क गरी घटनाबारे जानकारी गराउँदै घाइतेको तत्काल उद्धार गर्न माग गरेका थिए। त्यसपछि ३ जेठमा मरणासन्न अवस्थामा कुटिएका वडा सदस्यसहितलाई सरकारले बुधबार मात्रै हेलिकोप्टरमार्फत उद्धार गरेको थियो।