
८ जेठ, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा आएको बेलायती मन्त्री सीमा मल्होत्राबीच सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शुक्रबार भेटवार्ता सम्पन्न भएको छ। यस अवसरमा नेपाल र बेलायतबीचको दीर्घकालीन कूटनीतिक सम्बन्धलाई अझ सुदृढ पार्दै शिक्षा तथा खेलकुद क्षेत्रका रणनीतिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। साथै, दुई देशबीच शिक्षा क्षेत्रको विकासका लागि जारी साझेदारी कार्यक्रम र आगामी सम्भावित सहकार्यका विषयमा विचारविमर्श भएको पनि जनाइएको छ। नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्ने लक्ष्य राखेको ‘अटिजम स्कूल’ अवधारणा तथा कार्यान्वयनमा महत्त्वपूर्ण परामर्श भएको कुरा पनि साझेदारहरुले बताएका छन्।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा सुधारका लागि मन्त्रालयले अघि सारेका प्राथमिकता र कार्ययोजनाबारे जानकारी गराउँदै, अटिज्म भएका बालबालिकाका लागि गुणस्तरीय शिक्षा र अनुकूल वातावरण निर्माण गर्न बेलायत सरकारसँग प्राविधिक सहयोग, स्रोत व्यवस्थापन र दक्ष जनशक्ति विकासमा सहकार्यको आग्रह गरे। उनले शिक्षाको पुनःसंरचनामा ‘प्याराडाइम सिफ्ट’ आवश्यक रहेको उल्लेख गर्दै अपांगता भएका विशेषगरी अटिज्म भएका बालबालिकाका लागि विशिष्ट शिक्षण प्रणाली र सहयोग व्यवस्था विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताए।
मन्त्री पोखरेलले बेलायत सरकारबाट बजेटीय सहयोग र मौद्रिक सहायता सहित विज्ञता र ज्ञान हस्तान्तरणमार्फत क्षमता विकासमा थप सहयोगको अपेक्षा जनाए। भेटमा बेलायती मन्त्री मल्होत्राले नेपाल–बेलायतबीच ऐतिहासिक सम्बन्ध, विकास साझेदारी र पारस्परिक हितका विषयमा छलफल गर्दै दुई राष्ट्रबीचको सम्बन्ध अझ प्रगाढ बनाउने आवश्यकतामा जोड दिइन्। उनले बेलायतको नयाँ सरकारले शिक्षा क्षेत्रमा आधुनिक सुधारका कार्यक्रम अगाडि बढाइरहेको जानकारी दिँदै नेपालजस्ता मुलुकमा शिक्षामा थप लगानी र साझेदारी विस्तार गर्ने योजना रहेको उल्लेख गरिन्। मन्त्री मल्होत्राले नेपालको उच्च शिक्षामा बेलायती स्तरका गुणस्तरीय शैक्षिक कार्यक्रम सञ्चालनका लागि नेपालका विश्वविद्यालयसँग सहकार्य गर्ने प्रस्ताव पनि प्रस्तुत गरिन्। साथै, अन्तरदेशीय शिक्षा प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले आवश्यक कानुनी प्रावधान परिमार्जन गरी साझेदारी विस्तारमा बेलायत सरकार तयार रहेको बताए। समानता र इन्डो–प्यासिफिक क्षेत्रमा ध्यान केंद्रित गर्दै बेलायती मन्त्री मल्होत्रा तीनदिने भ्रमणका लागि आज बिहान नेपाल आइपुगेकी छन्।

