
९ जेठ, काठमाडौं । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभावसँगै पूर्वी भू–भागमा न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशसहित बाँकी हिमाली र पहाडी भू-भागमा सामान्यतया बादल लागेको छ। मधेस प्रदेशमा आंशिक बादल र बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका केही स्थानहरू र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि बढी वर्षा भइरहेको छ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बादल लाग्ने छ। मधेस प्रदेशसहित बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल रहनेछ भने बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, साथै मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा र लुम्बिनी तथा कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मध्यमदेखि बढी वर्षा र हिमपातको सम्भावना छ।
गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा तातो दिन र तराई भू-भागमा तातो लहर पर्ने सम्भावना रहेको छ। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बादल लाग्ने छ। बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल रहनेछ भने बाँकी तराई भू-भागमा मुख्यतया मौसम सफा रहनेछ। कोशी र मधेस प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका साथै कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि बढी वर्षा र हिमपात हुनसक्ने सम्भावना छ। कोशी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा पर्ने सम्भावना छ।

