Skip to main content

कांग्रेसले सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिहरूको जिम्मेवारी खोस्न थाले

नेपाली कांग्रेसले सदस्यता अद्यावधिक नगर्ने करिब ५० जना वडा सभापतिहरूको जिम्मेवारी खोस्न सुरु गरेको छ। सभापति गगन थापाले सदस्यता अद्यावधिक नगर्ने वडा सभापतिको ठाउँमा नयाँ व्यक्तिलाई जिम्मेवारी दिएको बताए। थापाले १५ औं महाधिवेशनका लागि सबै नेता–कार्यकर्ताले सदस्यता अद्यावधिक गर्नुपर्ने र ०८२ सालको नवीकरण मान्य नहुने बताएका छन्। ९ जेठ, काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिहरूको जिम्मेवारी खोस्न सुरु गरेको छ। विशेष महाधिवेशनमा सहभागी नभएका समूहका वडा सभापतिहरूले अद्यावधिकको काम नगरेपछि पार्टीले जिम्मेवारी खोस्न थालेको हो। देशव्यापी ‘जरा अभियान’ चलाइरहेको कांग्रेसले अहिलेसम्म करिब ५० जना वडा सभापतिहरूलाई अद्यावधिकको जिम्मेवारीबाट हटाइसकेको छ। उनीहरूको ठाउँमा कांग्रेसको वडा कार्यसमितिमा रहेका अन्य व्यक्तिलाई अद्यावधिकको जिम्मेवारी दिएको छ।

सभापति गगन थापाले सदस्यता अद्यावधिक नगर्ने करिब ५० जना वडा सभापतिको ठाउँमा नयाँ व्यक्तिलाई जिम्मेवारी दिएको बताएका छन्। ‘मैले हिजो मात्र निर्णय गरी आएको हुँ। उपसभापतिलाई पनि भर्खर जानकारी गराउँदैछु,’ थापाले शुक्रबार सुनसरीको लौकहीमा सम्पन्न ‘प्रदेश तथा स्थानीय तह स्तरीय भेला’मा भने, ‘हिजो मैले करिब ५० जना वडा सभापतिको ठाउँमा नयाँ साथीलाई क्रियाशील सम्बन्धी काम गर्न जिम्मेवारी दिएको छु।’ उनले अद्यावधिक नगर्ने वडा सभापतिको ठाउँमा अर्को व्यक्तिलाई जिम्मेवारी दिएको भए पनि उनीहरूको पद यथावत रहेको बताए। ‘वडा सभापतिहरू वडा सभापतिमै हुनुहुन्छ, उहाँको पद–सद केही गर्ने होइन। म गर्नु पनि हुँदैन,’ सभापति थापाले भने, ‘तर क्रियाशील अद्यावधिकको जिम्मा मैले अर्को साथीलाई दिइसकेको छु।’

सभापति थापाले सदस्यता नवीकरणलाई अद्यावधिक भन्नु गलत भएको पनि स्वीकार गरे। ‘यसलाई अद्यावधिक भन्ने कुरा बेकार भनिएको जस्तो लाग्छ अहिले,’ उनले भने। २२ वैशाखमा डा. शेखर कोइरालासँगको भेटमा पनि यसबारे चर्चा भएको उनले भेलामा सुनाए। ‘मैले अस्ति शेखर (कोइराला) दाइसँग भनेँ– दाइ शब्दको चयन गलत भयो,’ उनले सुनाए, ‘त्यसलाई अद्यावधिक नभई नवीकरण नै गर्नुपर्छ भनिदिनु पर्ने रहेछ।’ पार्टीले सदस्यता अद्यावधिक नभइ नवीकरण गर्दा आवश्यक तथ्याङ्क अनिवार्य बुझाउनु पर्ने निर्णय गर्नुपर्ने उनको भनाइ थियो। ‘नवीकरणको धारणा निलम्बन गर्दिनँ तर नवीकरण गर्दा यो–यो तथ्याङ्क अनिवार्य बुझाउनुपर्छ भनिदिनु पर्ने रहेछ,’ सभापति थापाले भने, ‘बढी जान्ने भएर अद्यावधिक भनियो। अनि कहाँबाट ल्याएछ केटाहरूले भनेर रोक्न लाग्नुभएको छ।’ सभापति थापाले १५ औं महाधिवेशनका लागि कांग्रेसका नेता–कार्यकर्ताले सबैले सदस्यता अद्यावधिक गर्नुपर्ने उल्लेख गरे। ०८२ सालको नवीकरण १५ औं महाधिवेशनका लागि मान्य नहुने उनको भनाइ थियो। ‘अद्यावधिक गर्दिनँ भन्नुभएको छ, ल एकछिन मानौं। नवीकरण गर्नुपर्दैन? १५ औं महाधिवेशनका लागि गरिसकेको छ, त्यसकारण गर्दिनँ भनेर छोडिदिनुभएको छ नेताहरूले,’ थापाले भने, ‘१५ औं महाधिवेशनका लागि ०८२ सालमा नवीकरण गरेर हुन्छ? प्रत्येक वर्ष गर्नुपर्छ.’