
९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराध सम्बन्धी अभियोग संशोधन भएपछि आफूलाई खुशी लागेको प्रतिक्रिया दिएका छन्। जिल्ला अदालत कास्कीले सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधमा लागेको अभियोग संशोधन गरेपछि उनले खुशी व्यक्त गरेका हुन्। ‘मले आदेश पढ्न पाएको छैन। अदालतको आदेश अनुसार हामीले चल्नु पर्छ,’ सभापति लामिछानेले सञ्चारकर्मीहरूलाई बताए, ‘यसमा म खुशी छु।’
लामिछानेले कास्कीबाट निर्णय आए पनि लडाइँ अझै जारी रहेको बताए। अन्य जिल्लाहरूमा विरुद्धका मुद्दा अझै बाँकी रहेको उनको भनाइ छ। ‘लडाइँ मसँग अझै बाँकी छ। अरू जिल्लाहरूमा पनि जानु पर्छ,’ सभापति लामिछानेले भने, ‘एउटा जिल्लाबाट मात्र मुद्दा अन्त भएको हो। कास्कीबाट भएको थाहा पाएँ, खुशी छु।’
जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले शुक्रबार जारी गरेको आदेशमा भनिएको छ, ‘निवेदन मनासिव देखिएपछि सम्बन्धित मूल, थप र पूरक अभियोगपत्रहरूमा सहकारी ठगीको अभियोग कायम राखी अन्य सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम संशोधन गरिदिएको छ।’
महान्यायाधिवक्ता सविता भण्डारी बरालको नेतृत्वमा रहेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारले गत पुसको अन्तिम साता रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन रहेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। त्यही निर्णयको आधारमा जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले जिल्ला अदालतमा अभियोग संशोधनका लागि निवेदन दिएको थियो। निर्णयको साढे चार महिनापछि जिल्ला अदालतले अभियोगपत्र संशोधन गर्ने निर्णय गरेको हो। अहिले कास्कीमा रवि लामिछानेमाथि सहकारी ठगीको अभियोग मात्र बाँकी छ।

