लुम्बिनी र सुदूरपश्चिममा अत्यधिक गर्मीको चेतावनी, तापक्रम ४० डिग्री सेल्सियस नाघ्न सक्छ

सरकारले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका क्षेत्रहरूमा आगामी तीन दिन अत्यधिक गर्मी र ४० डिग्री सेल्सियस वा सो भन्दा बढी तापक्रम हुने चेतावनी जारी गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता अपनाउनुपर्ने जिल्लाको सूचीमा राखेको छ। तातो हावाबाट बच्न प्राधिकरणले घरभित्र बस्ने, प्रशस्त पानी पिउने, हल्का कपडा लगाउने र स्वास्थ्य समस्या देखिए अस्पताल जान सुझाव दिएको छ। ९ जेठ, काठमाडौं — लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा आगामी तीन दिन अत्यधिक गर्मी हुने र तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी पुग्न सक्ने पूर्वानुमानसहित सरकारले तातो हावाको लहरको चेतावनी जारी गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार एक विशेष सतर्कता सूचना जारी गर्दै ती क्षेत्रहरूमा मध्यमस्तरीय तातो हावाको लहर आउने सम्भावना रहेको उल्लेख गरेको छ। जल तथा मौसम विज्ञान विभागको बुलेटिनलाई आधार बनाएर प्राधिकरणले आजदेखि पर्सिसम्म दिउँसो अत्यधिक गर्मी हुने जनाएको छ। अत्यधिक गर्मी र तातो हावाको लहरले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले प्राधिकरणले छ वटा जिल्लालाई उच्च सतर्कता अपनाउनुपर्नेमा राखेको छ। प्राधिकरणका अनुसार सतर्क रहनुपर्ने जिल्लाहरूमा दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर रहेका छन्। साथै कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेल्धुरा र बैतडी जिल्लाहरूलाई नियमित जानकारी लिनुपर्ने सूचीमा राखिएको छ। अत्यधिक गर्मीको स्वास्थ्यमा कस्तो प्रभाव पर्न सक्छ? प्राधिकरणका अनुसार अत्यधिक गर्मीले थकान, कमजोरी, बढी तिर्खा, टाउको दुख्ने, खुट्टा बेमोजिम हुने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या हुन सक्छन्। तातो हावाबाट कसरी जोगिने? प्राधिकरणका प्रवक्ता शान्ति महतद्वारा जारी सूचनामा तातो हावाबाट बच्न सर्वसाधारणलाई निम्न उपायहरू अपनाउन अपिल गरिएको छ : चर्को घाम लागेको बेला वा दिउँसो सकेसम्म घरभित्रै बस्ने। बाहिर निस्कनुपरे छाता ओढ्ने वा पातलो कपडाले टाउको छोप्ने। खुकुलो र शीतल हुने हल्का रंगको कपडा लगाउने। प्रशस्त पानी पिउने र बेलाबेला चिसो पानीले नुहाउने। धेरै चिनी नहालेको सर्बत, कागती पानी र फलफूल सेवन गर्ने। पसिना धेरै आए जीवनजल पिउने। सकेसम्म जंक फुड नखाने, घरमै बनाएको ताजा खाना खाने। खेतबारी र बाहिरी काम बिहान गर्मी बढ्नुअघि वा दिउँसो चिसो भएपछि मात्र गर्ने। बालबालिकालाई चर्को घाममा खेल्न नदिनु। जेष्ठ नागरिक र मुटु, फोक्सो, मिर्गौला जस्ता रोग भएका व्यक्तिलाई गर्मीले छिट्टै असर गर्ने भएकाले विशेष ख्याल राख्ने। कुनै स्वास्थ्य समस्या देखिए तुरुन्त स्वास्थ्य चौकी वा अस्पताल पुर्याउने। त्यसका साथै प्राधिकरणले सबै विपद् सम्बन्धी निकायहरूलाई संभावित जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि आवश्यक पूर्वतयारी गरेर तयार रहन निर्देशन दिएको छ.

