Skip to main content

श्रेयसको शतकले पंजाबलाई शानदार जित, प्लेअफको सम्भावना कायम

कप्तान श्रेयस अय्यरले ५१ बलमा १०१ रन बनाएर पंजाब किङ्सलाई आईपीएल २०२६ मा लखनउ सुपर जायन्ट्सविरुद्ध जित दिलाए। पंजाबले १९७ रनको लक्ष्य १८ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो र प्लेअफको सम्भावना कायम राख्यो। अहिले पंजाबले १४ खेलमा १५ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ र आइतबार हुने दुई खेलले प्लेअफ टुंगो लगाउनेछ। ९ जेठ, काठमाडौं।

श्रेयस अय्यरको शानदार शतकका कारण पंजाब किङ्सले आईपीएल २०२६ मा लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै प्लेअफको सम्भावना सुदृढ बनाएको छ। लखनउले दिएको १९७ रनको लक्ष्य पंजाबले १८ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो। श्रेयसले विजयी छक्का छक्क्याउँदै आफ्नो शतक पूरा गरे। उनी ५१ बलमा १०१ रनमा अविजित रहे। यसैगरी प्रभसिमरन सिंहले ६९ रन बनाए। कूपर कोनोलीले १८ रन बनाउँदा सुर्यांश शेड्गे ९ रनमा अविजित रहे।

लखनउका मोहम्मद शामीले २ विकेट लिए भने अर्जुन तेन्दुलकरले १ विकेट लिए। टस हार्दै पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनायो। ओपनर जोश इङ्लिसले सर्वाधिक ७२ रन बनाए। आयुष बदोनीले ४३ रन बनाए भने अब्दुल समद ३७ रनमा अविजित रहे। पंजाबका लागि मार्को यानसेन र युजभेन्द्र चहलले २-२ विकेट लिए भने विजयकुमार वाइशाक र अजमतुल्लाह ओमरजाइले १-१ विकेट लिए। जितसँगै पंजाबको १४ खेलमा १५ अंक भई चौथो स्थानमा पुगेको छ। अब आइतबार हुने दुई खेलले प्लेअफ टुंगो लगाउने छ।