Skip to main content

नेपालमा ग्यासको तत्काल माग ६० हजार टन, भारतले कति दिनसम्म आपूर्ति गर्ने?

नेपाल आयल निगमले उपभोक्ताले आत्तिएर खरिद गर्ने प्रवृत्तिका कारण ग्यासको माग वृद्धि भएको जनाएको छ भने आगामी १५ दिनभित्र आपूर्ति सहज हुने दाबी गरेको छ। निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले हाल ग्यासको माग ४७ हजार टनबाट वृद्धि गरी ६० हजार टन पुगेको संसदिय समितिलाई जानकारी दिएका छन्। आपूर्ति वृद्धि गराउन इन्डियन आयल कर्पोरेसनसँग पहल भइरहेको र दैनिक ११० देखि ११५ वटा ग्यास बुलेट लोड भइरहेका कारण समस्या चाँडै समाधान हुने निगमले बताएका छन्। २० साउन, काठमाडौं।

नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको माग अस्वाभाविक रूपमा बढेको भन्दै आगामी १० देखि १५ दिनभित्र आपूर्ति सहज हुने दाबी गरेको छ। बुधबार सिंहदरबारमा राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले प्राविधिक समस्या र उपभोक्ताको ‘प्यानिक बाइङ’ अर्थात् आत्तिएर खरिद गर्ने प्रवृत्तिका कारण केही असहज स्थिति भए पनि दुई साताभित्र ग्यास आपूर्ति पूर्ण रूपले सहज हुने बताएका छन्।

निगमका अनुसार सामान्य अवस्थामा करिब ४७ हजार टन ग्यासको माग हुने गरेकोमा अहिले त्यो बढेर ६० हजार टन पुगेको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी)सँग ग्यास आपूर्ति बढाउन निरन्तर पहल भइरहेको निगमले जनाएको छ। ‘हामीले कम्तीमा दुई महिनाका लागि ४९ हजार टन डिमाण्ड पठाउँथ्यौं तर अहिले ६० हजार टनको माग आएको छ,’ बरालले भने, ‘आईओसीले ४९ हजार ५ सय टन मात्र उपलब्ध गराउन सक्ने बताए पनि हामीले जे जसरी भए पनि ५५ हजार टन उपलब्ध गराउन आग्रह गरेका छौं।’

आईओसीले ५५ हजार टनको माग पूरै स्वीकार नगरे पनि बुलेटको लोडिङ बढाएको बरालले बताए। बजारमा ग्यास अभाव देखिनुको एक प्रमुख कारण उपभोक्ताले आत्तिएर ग्यास भण्डारण गर्नु हो भन्ने निगमको भनाइ छ। उपभोक्ता अधिकारकर्मीहरूसँगको छलफलमा पनि दसैं तिहारलाई मध्यनजर गर्दै दुई महिनाका लागि ६० हजार टन ग्यास ल्याउन सके र घरमा भएका खाली सिलिन्डर भर्न सकियो भने बजारको दबाव घट्ने कुरामा सहमति भएको छ भने बारालले बताए।

तत्काल माग अनुसार आपूर्ति वृद्धि गर्न प्राविधिक तथा ढुवानी सम्बन्धी सीमितता रहेको पनि निगमले बताएको छ। ‘हामीले तत्कालै गाडी (बुलेट)को फ्लिट व्यवस्थापन गर्न सकिरहेका छैनौं, र हामीले भनिदिएर पनि आईओसीले रिफाइनरीबाट उत्पादन बढाउन सक्दैन,’ बरालले भने, ‘हल्दिया पाइपलाइनमा आगलागी भइसकेपछि त्यहाँको उत्पादन पनि प्रभावित भएको छ। यी विविध कारणले आपूर्ति मिलाउन केही समस्या भएको छ।’ यद्यपि, निगमले ग्यास आपूर्ति सहज बनाउन भरमग्दुर प्रयास गरिरहेको जनाइएको छ। ‘पहिले दैनिक ८० वटा बुलेट लोड हुने गरेकोमा अहिले व्यवस्थापन गरेर दैनिक ११० देखि ११५ बुलेट लोड भइरहेको छ,’ बरालको दाबी छ, ‘यसै गरी आपूर्ति भइरहेको छ र अबको ८ देखि १५ दिनभित्र हामी ग्यासको आपूर्ति पूर्ण रूपमा व्यवस्थापन गर्न सक्नेमा आशावादी छौं।’