Skip to main content

शुक्रवार २० उत्कृष्ट उद्यमीले व्यवसाय प्रस्तुत गर्ने

अमेरिकी दूतावासको सहयोगमा सञ्चालन भइरहेको उद्यमशीलता सिप विकास कार्यक्रम अन्तर्गत छनोट भएका उत्कृष्ट २० उद्यमीले काठमाडौंमा आफ्नो व्यवसाय प्रस्तुत गर्नेछन्। तीन दिने आवासीय कार्यक्रममा उद्यमीहरूले व्यवसाय विस्तार, लगानी तयारी, कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग र बजार व्यवस्थापन सम्बन्धी गहिरो प्रशिक्षण लिइरहेका छन्। अमेरिकी दूतावासका माइक हार्करले नेपाली उद्यमीमा गरिएको लगानीले अमेरिका–नेपाल आर्थिक साझेदारी थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

२१ साउन, काठमाडौं। नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा सञ्चालित उद्यमशीलता सिप विकास कार्यक्रम अन्तर्गत ‘क्यापस्टोन एक्सेलेरेटर’ अन्तिम चरणमा पुगेको छ। देशभरिका ७ सहरबाट प्रतिस्पर्धात्मक छनोटमार्फत उत्कृष्ट २० उद्यमीले शुक्रबार (२२ साउन) काठमाडौँमा आफ्ना व्यवसाय लगानीकर्ता, उद्योगी र उद्यमशीलता क्षेत्रका सरोकारवालासमक्ष प्रस्तुत गर्ने भएका छन्।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा आयोजना हुने ‘लगानी तथा विश्व बजार केन्द्रित पिचिङ सत्र’ मा सहभागीहरूले आफ्ना व्यवसाय विशेषज्ञ प्यानलका अगाडि प्रस्तुत गर्नेछन्। आयोजकका अनुसार यो कार्यक्रम प्रतिस्पर्धा नभई उद्यमीलाई बजार विस्तार, लगानी आकर्षित गर्ने क्षमता, नवप्रवर्तन र निर्यात सम्भावनाबारे व्यावहारिक सुझाव प्रदान गर्नका लागि आयोजना गरिएको हो। कार्यक्रम ‘क्यापस्टोन मेन स्ट्रिट शोकेस’ बाट समापन हुनेछ। अमेरिकी ‘मेन स्ट्रिट’ अवधारणाबाट प्रेरित प्रदर्शनीमा सहभागीहरूले आफ्ना उत्पादन र सेवा प्रदर्शन गर्नेछन्।

क्यापस्टोन एक्सेलेरेटर अमेरिकी दूतावासको सहयोगमा सञ्चालित उद्यमशीलता सिप विकास कार्यक्रमको अन्तिम चरण हो र यसलाई इन्टरनेसनल डेभलपमेन्ट इन्स्टिच्युट (आईडीआई)ले आद्यन्त एड्भाइजरीसँगको साझेदारीमा कार्यान्वयन गरिरहेको छ। छनोट भएका उद्यमीहरू कृषि तथा कृषि प्रशोधन, खाद्य तथा पेय पदार्थ, सूचना प्रविधि, उत्पादन, सिर्जनात्मक उद्योग, परामर्श सेवा, डिजिटल सेवा, प्राकृतिक उत्पादन, हस्तकला, सहकारी तथा सामाजिक उद्यम लगायत विभिन्न क्षेत्रमा सक्रिय छन्।