Skip to main content

नेपालका महिला खेलाडीहरू यौन दुर्व्यवहारको शिकार भएका छन्: अध्ययनको निष्कर्ष

नेसनल एसोसिएसन फर स्पोर्ट्स हेल्थ एन्ड फिटनेस नेपालको अध्ययनअनुसार ३०.८ प्रतिशत नेपाली महिला खेलाडी छनोट प्रक्रियामा यौनजन्य दुर्व्यवहारमा परेका छन्। प्रशिक्षण र खेलकुदका क्रममा ३३.३३ प्रतिशत खेलाडीले प्रशिक्षकबाट अभद्र शब्द प्रयोग र दुर्व्यवहार भोग्नु परेको छ। दुर्व्यवहारका कारण ६५.२ प्रतिशत खेलाडी मानसिक तनावमा परेको र १३.०४ प्रतिशतले खेल जीवन नै छोड्नुपर्ने अवस्थामा पुगेको अध्ययनले देखाएको छ। २८ साउन, काठमाडौं।

नेपालका महिला खेलाडीहरू यौनजन्य दुर्व्यवहारमा पर्ने गरेको एक अध्ययनले प्रकाश पारेको छ। नेसनल एसोसिएसन फर स्पोर्ट्स हेल्थ एन्ड फिटनेस नेपालले ‘नेपाली महिला खेलाडीहरूमा हुने यौन उत्पीडनको स्थिति’ सम्बन्धि गरेको अध्ययनले यस विषयमा महत्वपूर्ण तथ्यहरू सार्वजनिक गरेको छ। २७६ महिला खेलाडीबीच गरिएको सर्वेक्षणले खेलाडी छनोटको क्रममा ३०.८ प्रतिशत महिला खेलाडीले यौनजन्य दुर्व्यवहार भोगेको निष्कर्ष दिएको छ। प्रतियोगिताको समयमा २६.०९ प्रतिशत र प्रशिक्षणको क्रममा ७.९७ प्रतिशत दुर्व्यवहारमा परेको तथ्य समेत अध्ययनले देखाएको छ।

अध्ययनअनुसार, प्रशिक्षण तथा खेलको क्रममा प्रशिक्षकबाट ३३.३३ प्रतिशत महिला खेलाडीहरूले अभद्र शब्द सुन्नु परेको र दुर्व्यवहार भोग्नु परेको छ। त्यस्तै, म्यानेजरबाट २३.१९ प्रतिशत, दर्शकबाट ११.५९ प्रतिशत र प्रशिक्षक, व्यवस्थापक, संघ तथा राखेपका पदाधिकारीहरूबाट २१.७४ प्रतिशत महिला खेलाडीहरूलाई अभद्र व्यवहारको अनुभव भएको अध्ययनले देखाएको छ। दुर्व्यवहारले महिला खेलाडीहरूको मानसिक स्वास्थ्य र खेल जीवनमा गम्भीर असर पुर्‍याएको अध्ययनको नतिजामा उल्लेख छ।

दुर्व्यवहारका कारण ६५.२ प्रतिशत खेलाडीहरू मानसिक तनावमा परेका छन्। यसमा ४६.३८ प्रतिशतले निराशा अनुभव गरेको र २०.२९ प्रतिशतले असहाय महसुस गरेको पाइएको छ। १३.०४ प्रतिशत महिला खेलाडीहरूले खेलकुद नै छोड्ने सोच बनाएका छन्। दुर्व्यवहारमा परेकामध्ये २६.०९ प्रतिशतले डर र सामाजिक प्रतिष्ठाको कारण कसैलाई उजुरी नगरेको पाइएको छ भने ४२.०३ प्रतिशतले प्रशिक्षक र साथीहरूलाई भने जानकारी गराएका छन्। अध्ययन मार्फत नेपाली महिला खेलाडीहरूले देशभर सचेतना र सशक्तिकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा दुर्व्यवहार गर्नेहरूमा कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्। महिला खेलाडीहरूसँग सम्बन्धित उजुरी गोप्य रूपमा दिन सकिने छुट्टै महिला सेल स्थापना हुनुपर्ने, सानै उमेरदेखि आत्मरक्षा तालिम प्रदान गर्नुपर्ने र खेलाडीहरूको लागि निशुल्क फिजियोथेरापीको व्यवस्था सुनिश्चित गर्नुपर्नेमा पनि उनीहरूद्वारा जोड दिइएको छ।