Skip to main content

एसियाडमा इ–स्पोर्ट्स खेलाडीको सहभागिता नहुने विषयमा राखेपको स्पष्टीकरण

समाचार सारांश राष्ट्रिय खेलकुद परिषद्ले २०औं एसियाली खेलकुदमा नेपालका इ–स्पोर्ट्स खेलाडी सहभागी हुन नपाएको विषयमा गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ। परिषद्काअनुसार इ–स्पोर्ट्स संघ, नेपालसँग समन्वय गरी खेलाडीको नाम सिफारिस गरिएकामा संघले नै सहभागिता हुन नसक्ने जानकारी गराएको थियो। प्रारम्भिक नामावलीमा समावेश नभएका खेलाडीलाई पछि छनोट भएको दाबी गर्दै सहभागी गराउन नसकिने राखेपले स्पष्ट पारेको छ। २८ साउन, काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी २०औं एसियाली खेलकुदमा नेपालका इ–स्पोर्ट्स खेलाडी सहभागी हुन नपाएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ। राखेपले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा एसियाडका लागि प्रारम्भिक नामावली पठाउँदा परिषद्मा आधिकारिक रूपमा दर्ता भएको इ–स्पोर्ट्स संघ, नेपाल (इसान)सँग समन्वय गरी खेलाडीहरूको नाम समावेश गरिएको जनाएको छ। यसैबीच, नेपाल इ–स्पोर्ट्स संघ (नेसा) नामक अर्को संस्थाले पनि गतिविधि सञ्चालन गरिरहेको जानकारी पाएपछि खेलाडीहरूको हितमा सहभागीता सुनिश्चित गर्न आवश्यक छलफल र समन्वयका लागि राखेपले उक्त संस्थालाई पत्राचार गरेको थियो। तर निर्धारित समयभित्र नेसा राखेपको सम्पर्कमा आउन सकेको छैन भन्ने तथ्य परिषद्ले जनाएको छ। एसियाड आयोजकले तोकेको समयभित्र नेपाल ओलम्पिक कमिटीमार्फत योग्य खेलाडीहरूको अन्तिम नामावली पठाउनुपर्ने भएकाले सम्बन्धित संघबाट सिफारिस अनुसार १२ खेलाडीसहित १५ जनाको सहभागिताका लागि नाम सिफारिस गरिएको राखेपले बताएको छ। तर आधिकारिक रूपमा दर्ता भएको इ–स्पोर्ट्स संघ, नेपालले सिफारिस गरेका खेलाडी छनोट हुन नसकेको भनाइ राखेपलाई जानकारी गराएको र त्यसैको आधारमा राखेपले एसियाडमा इ–स्पोर्ट्स खेलाडीको सहभागिता नहुने निर्णय गरेको उल्लेख गरिएको छ। समय सकिएपछि सहभागिताको दाबी राखेपका अनुसार समन्वयका लागि गरिएको अनुरोधलाई निर्धारित समयसम्म नेसाले बेवास्ता गरेको थियो। तर समयसीमा बितेपछि आफ्ना खेलाडी छनोट भएको भन्दै एसियाडमा सहभागी गराउनुपर्ने दाबी गरिएको छ। राखेपले एसियाडका लागि पठाइएको प्रारम्भिक नामावलीमै समावेश नभएका खेलाडीलाई पछि छनोट भएको दाबीका आधारमा सहभागी गराउन नसकिने स्पष्ट पारेको छ। ‘प्रतियोगिताका लागि दर्ता गरिएको प्रारम्भिक नामावलीमा समावेश नभएका खेलाडी छनोट भएको दाबी परिषद्ले कार्यान्वयन गर्न असमर्थ रहेको’ विज्ञप्तिमा उल्लेख छ। यथार्थलाई बेवास्ता गरी एकपक्षीय रूपमा भ्रामक समाचार प्रकाशित गरिएको भन्दै राखेपले असहमति जनाएको छ। २०औं एसियाली खेलकुद आगामी सेप्टेम्बर–अक्टोबरमा जापानमा सञ्चालन हुँदैछ।