Skip to main content

भिसा अस्वीकृत हुँदा सुनिल खड्काले क्यालिस्थेनिक्स विश्व च्याम्पियनसिपमा सहभागिता गुमाए

नेपाली क्यालिस्थेनिक्स खेलाडी सुनिल खड्काले भिसा अस्वीकृत भएपछि लाट्भियामा आयोजना भएको विश्व च्याम्पियनसिपमा भाग लिन सकेनन्। क्यालिस्थेनिक्स नेपाल ओलम्पिक कमिटीमा दर्ता नभएकोले उनले सरकारी आधिकारिक सिफारिसपत्र नपाएकाले भिसा आवेदन अस्वीकृत भएको हो। अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन राष्ट्रिय छनोटबाट चयन भएका खेलाडीका लागि राज्यले वैकल्पिक कागजात व्यवस्था गर्नुपर्ने माग उठेको छ। २९ साउन, काठमाडौं।

सुनिल खड्का पुरुष इन्ड्युरेन्स विधामा राष्ट्रिय छनोटमा छनौट भएका थिए। च्याम्पियनसिप अगस्ट १२ देखि लाट्भियामा चलिरहेको छ र भोलि सम्पन्न हुनेछ। राइज क्यालिस्थेनिक्स ललितपुर र एनवाईएफसी नेपालको सहकार्यमा गत अप्रिलमा आयोजित राष्ट्रिय छनोट प्रतियोगिताबाट विभिन्न विधामा खेलाडी छनौट गरिएको थियो। प्रतियोगितामा पुरुष र महिला इन्ड्युरेन्स तथा पुरुष र महिला फ्रिस्टाइल गरी चार विधा समावेश थिए।

सुनिलका अनुसार अन्य तीन खेलाडीले आवश्यक कागजातको अभावमा भिसाका लागि आवेदन नै दिइएको थिएन, तर उनले आवश्यक प्रक्रिया पुरा गरेर लाट्भिया जान तयार गरेका थिए। उनले भने, “मेरो खेल लाट्भियामा हुँदैथियो तर भिसा अस्वीकृत भयो। क्यालिस्थेनिक्स एनओसीमा दर्ता भएको खेल होइन।”

सुनिलको यो घटनाले क्यालिस्थेनिक्स खेलाडी मात्र नभई, राष्ट्रिय संरचनामा दर्ता नभएका खेलका खेलाडीका लागि अन्तर्राष्ट्रिय सहभागिताको प्रक्रियामा समेत प्रश्न उठाएको छ। उनले भने, “क्यालिस्थेनिक्सलाई संस्थागत रूपमा दर्ता गर्ने वा दर्ता नभएका खेलका लागि राष्ट्रिय प्रतिनिधित्व पुष्टि गर्ने छुट्टै सरकारी संयन्त्र बनाउने हो भने अन्तर्राष्ट्रिय प्रतियोगितामा जाने खेलाडीलाई सहजता मिल्ने छ।”