Skip to main content

प्रिमियर कप उपाधि जित्दै नेपाल एसिया कपका लागि छनोट

संयुक्त अरब इमिरेट्स (युएई) लाई ४४ रनले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमियर कपको उपाधि जितेको छ। यस उपाधिसँगै नेपाल आगामी एसिया कपका लागि पनि छनोट भएको छ। नेपालले यसअघि एसिया कप प्रतियोगिता खेल्न यो दोस्रो पटक हो। सन् २०२७ को जुनमा बांग्लादेशमा आयोजना हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश तथा अफगानिस्तान पनि सहभागी हुनेछन्। यसअघि सन् २०२३ मा नेपालले पहिलोपटक एसिया कप खेलेको थियो, जहाँ टोलीले भारत र पाकिस्तानका सामना निकै ‘प्रभावकारी’ प्रदर्शन गरेको थियो।

शनिबार बिहान मलेसियाको वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आशिफ शेखको शतकिय पारीको सहायतामा ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रनको बलियो स्कोर बनाएको थियो। जवाफस्वरूप आएको युएईलाई नेपालले ४९.१ ओभरमा २६९ रनमा अलआउट गराउन सफल भयो। नेपाली टोलीले एक दिवसीय अन्तर्राष्ट्रियमा ३०० रन पार गरेको यो तेस्रो पटक हो। यसअघि नेपालले स्कटल्याण्ड विरुद्ध गत वर्ष ३२१ रन र अमेरिकाविरुद्ध यसै वर्ष ३१७ रन बनाएको थियो।

ओपनर आशिफ शेखले आवश्यक समयमा अत्यन्त महत्वपूर्ण इनिङ खेले। नेपाली प्रशिक्षक स्टुअर्ट ल ले फाइनल खेलमा देव खनाल र शेर मल्ललाई बेंचमा राखेर अर्जुन कुमार र सन्दीप जोरालाई मैदानमा उतारेका थिए। आशिफले अर्जुनसँग मिलेर पहिलो विकेटका लागि ९७ रनको महत्वपूर्ण साझेदारी गरे। आशिफले १०२ रनको शतक प्रहार गरे। १०६ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरेका थिए। यो उनका एक दिवसीय अन्तर्राष्ट्रिय करियरको दोस्रो शतक पनि हो।

राहुल चोपडा र सोहेब खानले छैटौँ विकेटका लागि ८७ रनको साझेदारी गर्दै टोलीलाई उकास्न प्रयास गरे। तर ३१४ रनको विशाल लक्ष्य पूरा गर्न आएको युएई टोली सुरुवातमै दबिए। नेपाली बलरहरूले जिततर्फ मार्ग बनाउँदै लगे। राहुलले चोटसँगै संघर्ष गर्दै अविजित १०० रन बनाएका थिए। नेपालका करणले ३ विकेट लिए भने दीपेन्द्र र ललितले २/२ विकेट लिए।