Skip to main content

अमेरिकास्थित भारतीय राजदूतको प्रतिक्रिया: ऊर्जा सुरक्षा नै प्रमुख प्राथमिकता

रुसबाट तेल र ग्यास खरिद गर्ने देशहरूलाई १०० प्रतिशतसम्मको ट्यारिफ लगाउने विधेयक अमेरिकी संसदले पारित गरेपछि भारतले यसको जवाफ दिएको छ। अमेरिकाका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय जनताको ऊर्जा सुरक्षा सबैभन्दा प्राथमिकतामा रहेको बताएका छन्। रुसबाट तेल र ग्यास खरिद गर्ने प्रमुख देशहरूमा भारत र चीन पनि पर्छन्। क्वात्राले सामाजिक सञ्जाल एक्समा उल्लेख गरे, ‘भारतका जनताको ऊर्जा सुरक्षा सर्बप्रथम आउँछ।’

भारतका निर्णयहरू ऊर्जा आपूर्ति, सस्तो मूल्य, बजार अवस्था र व्यावसायिक व्यवहारका आधारमा गरिन्छन्। राजदूत क्वात्राका अनुसार, ‘भारतले आफ्नो कच्चा तेलको ८५ प्रतिशतभन्दा बढी र प्राकृतिक ग्यासको लगभग आधा आवश्यकताका लागि आयात गर्दछ।’ हालैका द्वन्द्वका कारण विश्वव्यापी आपूर्तिमा दबाव परेपछि भारतले आफ्ना जनतालाई मूल्य वृद्धिबाट जोगाउन निर्णायक कदम चालेको छ र यसले विश्वव्यापी ऊर्जा बजारलाई स्थिर राख्न तथा ठूलो संकट रोक्न मद्दत गरेको उनी बताउँछन्।

‘आफ्ना जनताका लागि पर्याप्त, सस्तो र निरन्तर ऊर्जा सुनिश्चित गर्न सीमाभन्दा बाहिरका विकल्प खोज्नु हामी सबैको जिम्मेवारी हो,’ उनले थपे। क्वात्राका अनुसार भारतले मध्यपूर्व, अफ्रिका, ल्याटिन अमेरिका, युरेसिया र अमेरिकाका विभिन्न साझेदार देशहरूबाट इन्धन खरिद गर्दछ। चीनले भने अमेरिकी कानुन अन्तर्राष्ट्रिय कानुनसँग मेल नखाने भन्दै त्यसलाई पालना गर्न बाध्य नभएको जनाएको छ।