
स्वीडेनमा सम्पन्न आम निर्वाचनमा वामपन्थी विपक्षी गठबन्धनले सानो अन्तरले विजय हासिल गरेको छ। नयाँ गठबन्धनले सरकार गठनका लागि जटिल वार्ता गर्नुपर्ने स्थिति देखा परेको छ। बिहीबार मतगणना समेत सकिएपछि स्वीडेनको निर्वाचन प्राधिकरणले राजधानी स्टकहोमस्थित ३४९ सदस्यीय संसद् रिक्सडागमा वामपन्थी विपक्षी चार दलले १७६ सिट जितेको घोषणा गरेको छ। हालको सरकारका रूपमा रहेका कन्जरभेटिभ नेतृत्वको चार दलीय गठबन्धनले १७३ सिट जितेको छ। यसरी वामपन्थी गठबन्धनले तीन सिटको सानो बहुमत पाएको छ।
करिब एक करोड ६ लाख जनसंख्या भएको स्वीडेनमा दुई पक्षबीच करिब ५० हजार मतहरूको मतान्तर देखिएको छ। निर्वाचन नतिजा सार्वजनिक भएपछि दक्षिणपन्थी दलका नेता तथा प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले राजीनामा दिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘अब नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन सभामुखले नेतृत्व गर्नुहुनेछ। त्यसका लागि काम तुरुन्तै सुरु होस् भन्ने उद्देश्यले म प्रधानमन्त्री पदबाट आफूलाई मुक्त गर्न अनुरोध गर्दछु।’
चुनावमा पूर्वप्रधानमन्त्री म्याग्डालेना एन्डरसनको वामपन्थी सोसल डेमोक्र्याट्स पार्टी सबैभन्दा ठूलो एकल दल बनेको छ, यद्यपि उनले अघिल्लो निर्वाचनको तुलनामा केही मत समर्थन गुमाएका छन्। यस नतिजापछि एन्डरसनले सन् २०२२ मा गुमाएको प्रधानमन्त्री पद पुनः प्राप्त गर्ने सम्भावना देखिएको छ। तर वामपन्थी गठबन्धनभित्रका वैचारिक मतभेदले सरकार गठनमा चुनौती थपेको छ। यो गठबन्धनमा सोसल डेमोक्र्याट्स, लेफ्ट पार्टी, ग्रिन्स पार्टी र सेन्टर पार्टी समावेश छन्। सन् २०२१–२०२२ मा स्वीडेनकी पहिलो महिला प्रधानमन्त्री बनेकी एन्डरसन अगाडि सात वर्ष अर्थमन्त्री पनि थिइन्। अब उनले समाजवादी लेफ्ट पार्टी र उदारवादी सेन्टर पार्टीबीचको मतभेद मिलाउनुपर्ने छ।






