सिड्नीका फेरी कर्मचारीहरूले तलब वृद्धिका लागि आन्दोलन गर्दै यात्रु शुल्क छुट दिने घोषणा गरे

सिड्नी फेरीका कर्मचारीहरूले तलब वृद्धिको माग गर्दै सेप्टेम्बर ११ देखि अक्टोबर ६ सम्म भाडा नलिने घोषणा गरेका छन्। युनियनले ओपल कार्ड रिडर बन्द गर्ने निर्णय गरेको छ भने ट्रान्सपोर्ट फर एनएसडब्ल्यूले नियमित भाडा लाग्ने र यात्रुले ट्याप अन–ट्याप अफ गर्नुपर्ने जानकारी दिएको छ। ट्रान्सडेभसँग ५ प्रतिशत तलब वृद्धिका लागि वार्ता भइरहेको छ तर औद्योगिक कारबाहीका कारण केहि फेरी सेवा प्रभावित हुनसक्ने सम्भावना छ। २ असोज, क्यानबेरा।
अस्ट्रेलियाको सिड्नीमा फेरी कर्मचारीहरूले तलब वृद्धि र कामको अवस्था सुधारको माग गर्दै औद्योगिक कारबाहीमा उत्रिएका छन्। यसमा हडताल मात्र नभई, ओभरटाइम नगर्ने, कामको गति घटाउने, केही जिम्मेवारी बहिस्कार गर्ने, कामको केही भाग मात्र गर्ने र भाडा सङ्कलन नगर्ने कार्यहरू पनि समावेश छन्। यसैले श्रमिक आन्दोलनले यात्रुहरूलाई प्रत्यक्ष राहत दिने कार्यक्रम तयार पारेको छ।
म्यारिटाइम युनियन अफ अस्ट्रेलियाका सदस्यहरूले सेप्टेम्बर ११ देखि अक्टोबर ६ सम्म सिड्नी फेरीको ओपल कार्ड रिडर बन्द गर्ने र भाडा सङ्कलन नगर्ने घोषणा गरेका छन्। युनियनका अनुसार यात्रुले उक्त अवधिमा भाडा तिर्न नपर्नेछ। आन्दोलनकारीहरूले तलब वृद्धिका लागि आन्दोलन गर्दा यात्रुहरूलाई असर नपरोस् भनेर एक महिनासम्म निःशुल्क यात्रा सुविधा उपलब्ध गराएका छन्। तर, न्यू साउथ वेल्सको यातायात निकाय ट्रान्सपोर्ट फर एनएसडब्ल्यूले भने नियमित भाडा लाग्ने र यात्रुले अनिवार्य रूपमा ओपल कार्ड वा कन्ट्याक्टलेस भुक्तानीबाट ट्याप अन–ट्याप अफ गर्नुपर्ने स्पष्ट पारेको छ।






