Skip to main content

भारत र भुटानबीच ऊर्जा सहकार्य विस्तार

भारत र भुटानले ऊर्जा परियोजनाका लागि चार हजार करोड भारतीय रुपैयाँको ऋण सुविधा सम्झौतामा हस्ताक्षर गर्दै द्विपक्षीय ऊर्जा सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। दुवै देशले १ हजार २० मेगावाटको पुनात्साङछु–२ जलविद्युत् आयोजना उद्घाटन र १ हजार २०० मेगावाटको पुनात्साङछु–१ को बाँध निर्माण पुनः सुरु भएको उपलब्धि उल्लेख गरेका छन्।

भारतका विदेशमन्त्री एस जयशङ्करको सेप्टेम्बर १६ देखि १८ सम्मको भुटान भ्रमणका क्रममा दुवै पक्षले द्विपक्षीय सहयोग र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका थिए। भुटानका विभिन्न जलविद्युत् आयोजनामा भारतीय कम्पनीको सक्रिय सहभागिताको स्वागत गरिएको छ। भ्रमणका क्रममा मोङ्गरमा ६५ शय्याको मातृ तथा बाल अस्पताल, सामद्रुप जोङ्खर–त्राशिगाङ राजमार्गको जगन्नाथन पुल र ५०० किलोवाटको लुनाना जलविद्युत् आयोजनालगायत विकास परियोजनाको उद्घाटन गरिएको थियो।

जयशङ्करले भुटानको विकास लक्ष्य र प्राथमिकतामा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता दोहोर्‍याए। दुवै पक्षले गेलेफु माइन्डफुलनेस सिटी, व्यापार तथा पारवहन, सीमापार सम्पर्क, डिजिटल भुक्तानी र अन्तरिक्ष सहकार्यबारे पनि छलफल गरेका छन्। भारतले गेलेफुमा आवागमन सहज बनाउन असमको हातिसरमा अध्यागमन जाँच चौकी स्थापना गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

शिक्षातर्फ भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को छात्रवृत्तिअन्तर्गत भुटानी विद्यार्थीको सङ्ख्या ३० बाट ६० तथा नालन्दा विश्वविद्यालय छात्रवृत्तिको सिट ३० बाट ५५ पुर्‍याउने निर्णय गरिएको छ। भ्रमणका क्रममा जयशङ्करले भुटानका विदेश मामिला तथा विदेश व्यापारमन्त्री डीएन धुङ्ग्याललाई भारत भ्रमणको निमन्त्रणापनि दिएका छन्।