
गायक एड सिरनले फिलाडेल्फियामा आयोजित कार्यक्रममा म्याकलमोर विवादपछि एक्लै मञ्चमा आएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। इजरायल–प्यालेस्टाइन विषयमा आफ्नो धारणा राख्दै उनले अक्टोबर ७, २०२३ का आक्रमणलाई भयानक भने र गाजामा भइरहेको हिंसात्मक घटनालाई विनाशकारी र अनुचित ठानेका छन्। विवादपछि सिरनको ‘लुप टुर’ अन्तर्गत अमेरिकाका कार्यक्रमहरूको टिकट बिक्रीमा कमी आएको छ र केही टिकटको मूल्य ३२ डलरसम्म झरेको छ। ४ असोज, काठमाडौं।
सिरनले प्यालेस्टाइन पक्षमा बोलेका अमेरिकी र्यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सृजित विवादलाई सम्बोधन गर्दै केही ‘गल्ती’ भएको स्वीकार गरेका छन्। उनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल राजनीतिक मुद्दाको बहसको बीचमा ल्याएर उभ्याएको छ।’
फिलाडेल्फियाको एक खेलकुद रंगशालामा शनिबार आयोजना गरिएको कार्यक्रममा सिरनले पहिलोपटक सो विषयमा प्रत्यक्ष आफ्नो विचार व्यक्त गरेका हुन्। विवादका कारण अन्य धेरै संगीतकारहरूले आफ्नो सांगीतिक यात्रा छोड्नुपरेको थियो। सिरनले कुनै सहायक कलाकारहरू बिना एकल रूपमा मञ्चमा प्रस्तुति दिएका छन्। कार्यक्रमको सुरुवातमा सिरनले भने, ‘मेरो कन्सर्ट सधैं सबैका लागि सुरक्षित ठाउँ रहँदै आएको छ।’ उनले आफू समर्थकहरूप्रति प्रतिबद्ध रहेको र त्यसैले मञ्चमा फर्किएको बताएका छन्।
सिरनले इजरायल र प्यालेस्टाइनस्थितिबारे आफ्नो धारणा स्पष्ट पार्न चाहेको बताएका छन्। उनले भने, ‘मैले आफ्नो क्यारियरमा कहिल्यै राजनीतिक विश्लेषक बन्न खोजेको छैन। म मेरो संगीत र कार्यक्रमले एकता पैदा गर्न र राजनीतिभन्दा माथि उठेर मानवता केन्द्रीत हुन चाहन्छु। यो एउट मानवीय मुद्दा हो र यसप्रति मेरो भावना अब लुकाउन सक्दिनँ।’ अक्टोबर ७, २०२३ मा इजरायलमा भएका आक्रमणहरूलाई ‘भयानक र धेरै वर्षदेखि यहूदी पीडालाई बढाउने खालका’ उनले बताए। सिरनका बाँकी सांगीतिक कार्यक्रमहरू उत्तर र दक्षिण अमेरिकामा आयोजना हुनेछन्।






