
५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ सेप्टेम्बर २३ अर्थात् असोज ७ गतेदेखि अमेरिका भ्रमणमा निस्कन लागेका छन् । यो जानकारी सोमबार चिनियाँ विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको छ । मन्त्रालयको विज्ञप्तिमा भनिएको छ कि राष्ट्रपति सीको औपचारिक अमेरिका भ्रमण सेप्टेम्बर २३ देखि २५ (असोज ७ देखि ९) सम्म हुनेछ । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको औपचारिक निमन्त्रणमा भ्रमण गर्न लागेका हुन् ।
यसअघिै गत शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पसँग चिनियाँ राष्ट्रपतिको भ्रमण मितिबारे प्रश्न सोधिएको थियो । ट्रम्पले जवाफमा भने– ‘हाम्रो सम्बन्ध राम्रो छ, उहाँ अर्को हप्तामा आउनुहुन्छ । हाम्रो बैठक निकै फलदायी हुनेछ ।’ उनले अमेरिका र चीनबीच विभिन्न सम्झौताहरु हुने पनि प्रष्ट पारेका थिए । मे महिनामा ट्रम्पले चीन भ्रमण गरेपछि बेइजिङमा दुई नेताबीच भेटवार्ता भएको थियो ।






