
समाचार संक्षेप: युनिसेफको प्रतिवेदनले पाकिस्तानमा वार्षिक करिब १५ लाख बालबालिका अनलाइन यौन दुव्र्यवहारको सिकार हुने देखाएको छ। प्रतिवेदनअनुसार करिब ८५ प्रतिशत अपराधी परिचित व्यक्ति हुने र ७१ प्रतिशत पीडितले घटना कसैलाई नबताउने गरेका छन्। पञ्जाब सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेको छ। ५ असोज, इस्लामावाद (रासस/एएफपी)।
पाकिस्तानमा वार्षिक करिब १५ लाख बालबालिका अनलाइन यौन दुव्र्यवहारको शिकार हुने गरेको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) काे प्रतिवेदनले देखाएको छ। सामाजिक कलंक, लाज तथा परिवार र समाजको प्रतिक्रियाको डरले अधिकांश पीडितले आफूले भोगेको घटना कसैलाई बताउने गरेका छैनन्। सुरक्षाका कारण नाम परिवर्तन गरिएकी १७ वर्षीया जारा शाह पनि अनलाइन गेम खेल्ने क्रममा एक अपरिचित व्यक्तिको सम्पर्कमा पुगेर यौन दुर्व्यवहारको प्रयासमा परेकी थिइन्। उनका अनुसार ती व्यक्तिले मित्रवत् व्यवहार गर्दै विश्वास जितेपछि भेट्न बोलाउनुका साथै नग्न तस्बिर मागेका थिए। अस्वीकार गरेपछि परिवारलाई उनीहरूबीचको कुराकानी सार्वजनिक गरिदिने धम्की दिइएको उनले बताइन्।
युनिसेफका अनुसार पीडितमध्ये करिब ८५ प्रतिशत अपराधी परिचित व्यक्ति हुने गरेका छन्। अपराधीले अनलाइन गेम, मित्रवत् कुराकानी, उपहार, पैसा वा प्रेमको आश्वासनमार्फत बालबालिकाको विश्वास जित्ने गरेका छन् भन्ने प्रतिवेदनमा उल्लेख छ। करिब ७१ प्रतिशत पीडितले घटना कसैलाई नबताउने गरेका छन् भने सर्वेक्षणमा सहभागी कसैले पनि प्रहरी, हेल्पलाइन वा सामाजिक कार्यकर्तामार्फत औपचारिक उजुरी गरेका थिएनन्। बाल अधिकार संस्था ‘पहचान’ की निर्देशक मेहक नैमका अनुसार रिपोर्ट भएका घटनामध्ये करिब ४४ प्रतिशत पूर्णरूपले अनलाइन हुने गरेका छन् र स्न्यापच्याट तथा ह्वाट्सएप बढी प्रयोग हुने माध्यमहरुमा पर्दछन्।
पाकिस्तानमा १२ देखि १७ वर्ष उमेर समूहका करिब ७४ प्रतिशत बालबालिका इन्टरनेट प्रयोग गर्ने भएकाले अनलाइन सुरक्षा थप चुनौतीपूर्ण बनेको छ। यसैबीच, पञ्जाब सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेको छ। डिजिटल अधिकार अभियन्ता उसामा खिलजीले यस्तो प्रतिबन्ध कार्यान्वयन गर्न कठिन हुने तथा यसले बालबालिकाको अभिव्यक्ति स्वतन्त्रतामा असर पार्न सक्ने बताएका छन्। बालबालिकाविरुद्ध प्रविधिको दुरुपयोग रोक्न पाकिस्तानमा कानूनी व्यवस्था भएता पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको मुस्लिम ह्यान्ड्सकी प्रवक्ता ताहिरा अफ्रासियाबले बताइन्। मानव अधिकारसम्बन्धी कानून व्यवसायी सलमान अफ्रिदीले आर्थिक कमजोरीको फाइदा उठाउँदै बालबालिकालाई यौन शोषणमा पार्ने क्रममा प्रविधिबाट विश्वास जित्ने, प्रलोभन दिने, धम्क्याउने तथा सामग्री उत्पादन र वितरण गर्नेसम्मका गतिविधि भइरहेको बताए। अनलाइन गेमबाट सुरु भएको आफ्नो अनुभवले अझै डरमा बाँच्न बाध्य बनाएको शाहले बताए। ‘म डराएकी थिएँ र अहिले पनि डराएकी छु’, उनले भनिन्।






